काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोपमा सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो । थुनछेक बहस सकिएसँगै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

अदालतले सुलभ अग्रवालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचारको व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अग्रवालले स्वास्थ्य समस्या रहेको भन्दै विशेष सुविधाको माग गरेका थिए ।
भट्ट र अग्रवालमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिलाई शुद्धीकरण गर्ने प्रयास गरेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विभागले उनीहरूको सम्पत्तिको स्रोत नखुलेको र वित्तीय अपराधमा संलग्न रहेको दाबी गर्दै करोडौँ बिगो दाबी गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपक भट्टलाई गत चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। लामो अनुसन्धानपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको हो ।














