काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभा बैठकबाट पारित हुँदै छ । त्यसअघि मन्त्रीहरूले सम्बन्धित मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
पूर्वाधार विकास मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, परराष्ट्र मन्त्री, रक्षा मन्त्रीले पनि आजै जवाफ दिने कार्यक्रम छ । रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्हालिरहेकाले उनैले जवाफ दिनुपर्ने हुन्छ ।
यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने छ ।
त्यसपछि सभामा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत हुनेछन् । खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि सभामा विनियोजन विधेयक २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।














