Logo
Logo

सीमाको रक्षक शासक होइनन्, नागरिक हुन्


शरद रिजाल

0
Shares



भनिन्छ, देशको माया शासकलाई हुँदैन, नागरिकलाई हुन्छ । यतिबेला यही पङ्क्ति नेपाली राजनीतिमा चरितार्थ भएको छ । मुलुकको प्रधानमन्त्री बालेन्द्र शाहले संसदका्े रोष्ट्रमबाटै नेपालले भारतको सीमा मिचेको टिप्पणी गर्दा नवलपरासीको सुस्तावासीले भारतीय सैनिकलाई लखेटेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्रीले तिनै सीमा क्षेत्रका बासिन्दालाई भारतको सीमा अतिक्रमण गरेको आरोप लगाउँदा सीमावासी भने सीमाको रक्षाका लागि आफैँ प्रतिरोध गर्न थालेका छन् ।

शासक गलत परे त्यसको समग्र भार मुलुकले बेहोर्नुपरेको दृष्टान्त हाम्रो सामु विगतदेखि नै छ । यसअघि केपी शर्मा ओली सत्तामा रहँदा उनको अहंकार र दम्भले जेनजी विद्रोह हुँदै मुलुकभर विध्वंस निम्तिएको थियो । गलत शासकले मुलुकलाई थप बरबादी र अनिश्चिततामा लैजान्छ भन्ने विश्वमा कैयौँ उदाहरण छन् ।

छिमेकी स्वतन्त्र मुलुक सिक्किमले आफ्नै देशको शासककै कारण आफ्नो स्वतन्त्र अस्तित्व गुमाएर भारतमा विलय हुनुपरेको थियो । मुलुकप्रति उत्तरदायी शासक भएमा देशमा कायापलट हुन समय लाग्दैन भन्ने उदाहरण उत्तरी छिमेकी मुलुक चीन रहेको छ । अर्कोतिर, दक्षिणी छिमेकी मुलुक भारत पनि आर्थिक विकासमा तिव्रत्तर फड्को मार्दै अघि बढिरहेको छ । तर हाम्रो मुलुकमा भने हरेक कालखण्डमा आउने शासकहरूको प्रवृत्ति देश हिततर्फ उन्मुख भन्दा पनि अनेकौँ कारणले विवादमा आइरहेका हुन्छन् ।

विगतमा व्यवस्थाकै कारण मुलुकले गति लिन नसकेको भन्दै दलहरूले जनतालाई व्यवस्था विरोधी आन्दोलनमा हिँडाएका थिए । तर जति नै व्यवस्था बललिए पनि जनताले आफ्नो जीवनस्तरमा सुखको अनुभूति गर्न पाएनन् । त्यसकै उपज जेनजी विद्रोह भएर मुलुकले ठूलै मूल्य चुकाउनुपरेको पनि सर्वविदितै छ ।

अहिले त्यही जेनजी विद्रोहको जगमा भएको फागुन २१ को निर्वाचनमा दुई तिहाइ मत लिएर सत्तारोहण गरेको रास्वपामा पनि पुरानै कार्यशैली देखा पर्न थालेको छ । जनताको परिवर्तनको चाहनालाई छिटो परिपूर्ति गर्नुको साटो उल्टै अनेकौँ बखेडामा सरकार लागेको छ । संसदमा अन्टसन्ट अभिव्यक्ति दिएर प्रधानमन्त्री बालेन विवादमा तानिएका छन् भने सरकारका मन्त्रीहरू पनि सर्भिस डेलिभरी भन्दा राजनीतिक स्टन्टबाजीमा लागेका छन् ।

गृहमन्त्री पदबाट हटेका सुधन गुरुङ पुनः पुरानै जिम्मेवारीमा फर्किएकै दिन दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका थिए । अर्का अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेर सीमित व्यापारी पोस्न उद्यत देखिएका छन् । उनैले पुराना दलहरुको कर्तुत देखाउँदै काण्ड खुल्ने चेतावनी दिन व्यस्त छन् ।

प्रतिनिधिसभाको बैठकमा पुराना दलहरु पनि काण्डमा कम नभएको बताउँदै अरूका कमजोरी देखाएर आफू सही बन्ने पुरानै दलगत चरित्र अंगीकार गरेका छन् । पुरानाले गर्न नसकेरै नयाँ आएको भन्ने गम्भीर तथ्य भुलेका अर्थमन्त्री वाग्ले पुरानै दल अनुरुप अघि बढ्ने मनोदशाले कहाँ पु¥याउने होला ? यसअघिका शासकहरूकै असक्षमताले रास्वपा सत्तामा आएको हो भन्ने तथ्यलाई बोध नगरी पुरानाकै पथमा हिँड्ने हो भने नयाँपन चाहिँ के हो ? चुनावमा जान्नेलाई छान्ने भनेको के यसकै लागि हो ? अहिले रास्वपालक्षित यस्ता प्रश्न जनस्तरबाटै उठ्न थालेको छ ।

यसरी परम्परागत दलीय चरित्र कायम राख्दै सरकार काम कुरो एकातिर ‘कुम्लो बोकी ठिमी’तिरकै दिशातर्फ उन्मुख भएको छ । मुलुकको ज्वलन्त समस्या समाधान गर्नुको साटो यस्ता अनेकौँ राजनीतिक फण्डाबाजीले सत्तासीन रास्वपालाई राम्रो गर्दैन । जनताको अपेक्षा अनुरुप अघि बढ्न नसके मुलुक अर्को अन्योलतामा फस्ने निश्चित छ ।

मुलुकको यतिबेलाको आवश्यकता भनेको जेनजी विद्रोहको भावना अनुरुप सुशासन कायम गर्दै जनतालाई नयाँ सरकारको अनुभूति दिलाउने हो । विगतदेखिका सीमा समस्या हल गर्न कूटनीतिक प्रयत्न थाल्नुपर्ने बेलामा सरकार आफ्नै कारणले कुहिरोको काग जस्तै रुमल्लिरहेको छ । सरकारको रवैयाले जनतामा आक्रोश दिनानुदिन बढ्दो क्रममा रहेको छ । जनताको आकांक्षा परिपूर्ति गर्नुपर्नेमा पुरानै दललाई माथ खुवाउने पुरानै प्रवृत्तिले रास्वपा सरकारको आगामी भविष्य कष्टप्रद हुने संकेत गरेको छ ।

प्रधानमन्त्री बालेनले संसदमा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति सेलाउन नपाउँदै भारतीय सीमा सुरक्षार्थ एसएसबीको फौज सीमा क्षेत्रमा पसेर नेपालीलाई आतंकित बनाइरहेको छ । केही दिनअघि भारतीय सुरक्षाकर्मीलाई नवलपरासीको सुस्तावासीले लखेटेका छन् । नेपाली सीमा क्षेत्रमा गएर आतंकित बनाउन खोजेको भारतीय सुरक्षाकर्मीलाई लखेटेर सुस्तावासीले देशभक्तिको नयाँ मानक स्थापित गरेका छन् ।

इतिहासकालदेखि नै नेपालको सीमाको रक्षा शासकले नभएर नेपाली जनताले गरेका हुन् । विगतमा अंग्रेजसँग युद्धको बेलामा पनि नेपालको सीमा रक्षार्थ कैयौँ वीर वीरांगनाहरूले आफ्नो ज्यानको आहुति दिएर यो मुलुक जोगाएका हुन् । कालापानी युद्धको कथा अझै पनि नेपालीको मानसपटलमा ताजै छ । त्यही युद्धले निम्त्याएको सुगौली सन्धिले नेपाल आजको सानो आकारमा खुम्चिुनपरे पनि आफ्नो सार्वभौमिकता भने आजपर्यन्त कायमै रहेको छ ।

अहिले पनि सीमा क्षेत्रका जनताले स्वतस्फूर्तरुपमा सीमाको रक्षा गरिरहेका छन् । पछिल्लो सुस्ताको परिघटना त्यसकै उपज हो । त्यहाँका जनताले ज्यादती गर्न भित्रिएको भारतीय सुरक्षा फौजलाई लखेटेर देखाएको देशभक्तिपनलाई आम नेपाली जनताले आत्मसात् गर्नुपर्छ ।

सुस्तावासीले सीमा क्षेत्रको रक्षाका लागि हतियारधारी भारतीय फौजसँग भिड्दै गरेको दृश्य हेर्दा प्रधानमन्त्री बालेनले दिएको राष्ट्रविरोधी अभिव्यक्तिले आक्रोश पैदा गरेको छ । त्यसरी आफ्नो जिउज्यानको परबाह नगरी सीमा रक्षा गरेका नेपालीको आत्मसम्मानमा चोट पर्नेगरी प्रधानमन्त्री बालेनले उल्टै नेपालले भारतीय सीमा मिचेको अभिव्यक्ति दिनु निकै लज्जास्पद परिघटना हो ।

राष्ट्रको अस्तित्व केवल नक्सामा कोरिएको सीमारेखाले निर्धारण गर्दैन, त्यसको रक्षा गर्ने नागरिकहरूको चेतना, त्याग र समर्पणले निर्धारण गर्छ । इतिहासले पटक–पटक प्रमाणित गरेको सत्य के हो भने सीमाको वास्तविक रक्षक कुनै शासक, सरकार वा राजनीतिक दल नभएर नेपाली नागरिक नै हुन् ।

शासकहरू समयसँगै बदलिन्छन्। व्यवस्था परिवर्तन हुँदै सरकार फेरिएर नीति र प्राथमिकताहरू पनि परिवर्तन हुन्छन् । तर राष्ट्रप्रतिको नागरिकको दायित्व भने स्थायी हुन्छ । जब देशभित्र सीमा अतिक्रमणको खतरा बढ्छ वा राष्ट्रिय स्वाभिमानमाथि चुनौती आएको अवस्थामा सबैभन्दा पहिले उभिने शक्ति भनेकै नेपाली नागरिक हुन् भन्ने तथ्य सुस्तावासीले यसपटक पुनर्पुष्टि गरेका छन् ।

आधुनिक नेपालको इतिहासदेखि हालसम्म नेपाली जनताले सीमा जोगाउन वीरतापूर्वक लडेको कैयौँ उदाहरण छन् । विदेशी हस्तक्षेप वा राष्ट्रिय स्वाधीनतामाथि खतरा आउँदा आम नेपालीले देखाएको साहस र एकताले देशलाई जोगाएको छ । देशभक्तिपूर्ण भाव नागरिकको विश्वास, समर्थन र राष्ट्रिय भावनाबाटै निर्माण हुन्छ । यदि नागरिकमा राष्ट्रप्रतिको अपनत्व कमजोर भयो भने सीमाको रक्षा मात्रै होइन, मुलुकमा बाह्य प्रभाव बलशाली हुन्छ ।

वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले सीमाको विषयलाई हचुवाको भरमा टिप्पणी गर्ने गरेका छन् । विगतमा ग्रेटर नेपालको नक्सा देखाएर राष्ट्रवादको नारा लगाउने तर राष्ट्रिय हितको रक्षा गर्न असफल हुने प्रवृत्ति उनमा देखिन्छ । यस्तो अवस्थामा नागरिक नै सचेत भएर सरकारलाई खबरदारी गर्दै जबाफदेही बनाउनुपर्छ । किनकि, राष्ट्र कुनै सरकारको निजी सम्पत्ति होइन, सम्पूर्ण नागरिकको ऐतिहासिक कालदेखिकै साझा विरासत हो । त्यसैले सीमाको रक्षा केवल सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको जिम्मेवारी मात्र होइन, प्रत्येक नागरिकको कर्तव्य हो ।

राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमिकताको आधार नागरिक चेतनामै निहित हुन्छ । शासकहरू परिवर्तन भइरहे पनि राष्ट्रको अस्तित्व निरन्तर रहिरहन्छ । राष्ट्रिय सार्वभौमिकताको आधार पनि नागरिकको समर्पण र जिम्मेवारी नै हो । सीमाको अन्तिम र सबैभन्दा भरपर्दो रक्षक शासक नभएर नागरिक भएको विगत इतिहासकालदेखिको दृष्टान्त रहेकाले अब पनि नेपाली आफ्नो सीमा सुरक्षाको लागि आफैं अग्रसर हुन जरुरी छ । नागरिकको देशप्रेम, सतर्कता र बलिदानले नै राष्ट्रको सीमा सुरक्षित रहन्छ र राष्ट्रिय अस्तित्व अक्षुण कायम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्