Logo
Logo

मुस्ताङको कोरला नाकाबाट भित्रिएका बीवाइडीको ईभी गाडी नियमसंगतः भन्सार विभाग


819
Shares

काठमाडौँ । भन्सार विभागले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि मुस्ताङको कोरला नाकाबाट भित्र्याइएका बीवाइडीको विद्युतीय सवारीसाधन (ईभी) नियमसम्मत नै रहेको स्पष्ट पारेको छ। विद्युतीय सवारीसाधनको जाँचपास तथा आयातका सन्दर्भमा विभागद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा ती गाडीहरू नियमानुसार नै भित्रिएको पाइएको हो।

विभागले जेठ १७ गते निर्देशक सुरेन्द्र पाण्डेयको नेतृत्वमा रसुवा भन्सार र जेठ २१ गते निर्देशक भूपालराज शाक्यको नेतृत्वमा मुस्ताङको कोरला नाकातर्फ छानबिन टोली खटाएको थियो। ‘भन्सार विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृत प्रतिनिधि सम्मिलित अनुगमन टोलीले विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गरेको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुस्ताङ भन्सार कार्यालयमा खटिएको टोलीको प्रतिवेदनअनुसार जेठ १२ र १३ गते ६४९ वटा विद्युतीय सवारीसाधनले ९ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रिया अघि बढाएको पाइएको छ।’

छानबिन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा उल्लेखित सबै विद्युतीय सवारीसाधनहरू जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।

यता, रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास गर्ने क्रममा कर्मचारीहरूले पर्याप्त सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको छानबिन टोलीले औंल्याएको छ। ‘अनुगमन टोलीले प्रज्ञापनपत्र र कार्यालयको अभिलेखलगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधनहरू भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको छ,’ विज्ञप्तिमा भनिएको छ।

कानुनी प्रक्रिया पूरा नगरेको देखिएपछि अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको छ।

उक्त अनियमिततामा संलग्न विद्युतीय सवारीसाधन पैठारीकर्ताहरू लक्ष्मी ई-मोबिलिटी प्रालि काठमाडौँ, साइमेक्स इन्क प्रालि काठमाडौँ, सीजी मोटर्स प्रालि, पूजा इन्टरनेसनल नेपाल प्रालि, पूजा कन्स्ट्रक्सन नेपाल प्रालि तथा एजेन्ट नम्बर २४८, ८३३ र ८७८ लगायत भन्सार जाँचपास प्रतिनिधिहरूलाई कानुनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखिपठाइएको विभागले जनाएको छ।

कोरला नाकाबाट ल्याइएका ६४९ वटा बीवाईडी (BYD) गाडीहरूलाई पर्वतको कुश्मा र कास्कीको हेम्जालगायतका स्थानबाट सशस्त्र प्रहरीले जेठ २१ गते नियन्त्रणमा लिएको थियो। तर, नियमसंगत रूपमा जाँचपास भई भित्रिएको पुष्टि भएपछि सरकारले ती गाडीहरू छाड्न निर्देशन दिएको थियो। त्यसपछि जेठ ३१ गते सशस्त्र प्रहरीले छाडिदिएका गाडी व्यवसायीले बुझेर लगिसकेका छन्। रसुवा भन्सार कार्यालयमा नियन्त्रणमा लिइएका सवारीसाधन भने अझै छाडिएको छैन।

प्रतिक्रिया दिनुहोस्