Logo
Logo
बक्रदृष्टि

शनिबार बिदाको दिन बालेनको विषेश ‘मुड’


0
Shares

काठमाडौं । हाम्रा प्रधानमन्त्री बालेन साह पनि रसिक छन् । ‘मुड’ चल्नासाथ सामाजिक सञ्जालमा मनको बह पोखिहाल्छन् । उनका समर्थहरुले बालेनको गन्ध पाउनासाथ वाहवाही गर्छन् भने, अन्यले प्रधानमन्त्रीजस्तो व्यक्तिले सामाजिक सञ्जालमा के लेखेको होलान् भनेर ट्वाँ पर्छन् ।

जे होस्, अहिले बालेन चर्चामा छन् । शनिबार बिदाको दिन उनको ‘मुड’ विशेष फुर्छ भन्ने कुरा दुई जना मन्त्रीलाइ दायाँ बायाँ राखेर उनले पोष्ट गरेको फोटोले पुष्टि गर्छ । त्यति मात्र कहाँ हो र ? उक्त फोटोमा राखिएका दुई मन्त्री सुनिल लम्साल र सुधन गुरुङ देश बनाउने टोली रे ! उक्त फोटो हेरेर रवि लामिछानेले भन्दै थिए, यो पनि खुस्केछ कि क्या हो ?

धमला ट्वाँ

नानीदेखि लागेको बानी प्रधानमन्त्री हुँदैमा कहाँ छुट्छ र ? ख्यालख्यालैमा सामाजिक सञ्जालले काठमाडौंको मेयर बनाएका बालेनको बानी प्रधानमन्त्री हुँदासम्म उस्तै छ । उनले सामाजिक सञ्जालमा ‘हप्ताभरि काम गरेर बिदाको दिन म जिस्किन्छु, यो समस्या होइन, दुःख त्यो दिन मान्नुस् जुन दिन म जिस्किन छोड्छु ।’ भनेर के स्टाटस लेखेका थिए सामाजिक सञ्जाल प्रतिक्रियाले भरियो ।

उनले जे लेखे त्यो मनको कुरा लेखे, तर त्यो मनको कुरा लेख्न उनलाई के कुराले उक्सायो भन्ने कुरा नबुझेर कुमार बेन पनि हैरान भा’छन् रे ? कसो, ऋषि धमला ?

विचरा बिजुलीको पोल

प्रधानमन्त्री बालेनका प्रिय मन्त्री पनि थरिथरिका छन् । नागढुंगा–मुग्लिन सडकको निरीक्षणमा हिँडेका भौतिकमन्त्री सुनिल लम्साललाई राजमार्ग सडक छेउछाउको बिजुलीको पोलले के जिस्क्याएको थियो– उनी कड्किहाले– यो सडकको ठेकेदार को हो ? त्यसको खुट्टा भाँच्नुपर्छ ।’ यसमा विचरा ठेकेदारको के दोष, दोष त पोलको हो नि !

मन्त्री आउने चाल पाएको भए पोल आफैँ हट्थ्यो कि ? त्यसमा ठेकेदारको के दोष ? त्यसैले अबदेखि मन्त्रीज्यू, बाटोमा बिजुलीको पोल देख्नासाथ ठेकेदारको खुट्टा भाँच्ने कुरा त गर्नु भएन नि, कसो आशिषका तामाङज्यू ?

चोरको खुट्टा काट्…

नपाउनेले केरा पायो बोक्रासँगै खायो भनेझैँ छ हाम्रा अर्थमन्त्री स्वर्णिम वाग्लेको चाला । संसद्मा करको दर हेरफेरबारे त्यत्रो बहस चलेको छ, उनको पारा भने सुधन गुरुङको भन्दा कम छैन ।

गत सोमबारको बैठकमा प्रतिपक्ष बेन्चबाट प्रश्नको ओइरो के लागेको थियो, वाग्लेको पारो तात्यो र उनले भने– तपाईंको काण्डबारे पनि पोल खोलौं ? उनको कुरो सुनेर चोरको खुट्टा काट् भन्दा उचाले जस्तो गरेर एमाले सांसद् पद्मा अर्यालले उफ्रिँदै भनिन्– लौ गिरिबन्धुको छानबिन गर…। यी दुईको विवाद सुनेर अर्जुननरसिंह केसी लाजले भुतुक्क भए ।

गगनको व्यंग्य

शनिबार कांग्रेसले सानेपामा ‘सुवर्णशम्शेर इकोनोमी शृंखला’ आयोजना गरेको थियो । खासगरी अर्थतन्त्रको विषयमा छलफल गर्न उक्त शृंखला आयोजना गरिएको हो । उक्त कार्यक्रममा सभापति गगन थापाले व्यंग्य गर्दै भने– बालेन सरकारले जे गर्दा पनि हिट् । डिडिसीको चिज खाँदा पनि हिट्, संसद्मा गोल्डस्टार जुत्ता लगाएर जाँदा पनि हिट् । सभापति थापाले के भन्न खोजेका हुन् ? बालेनको तारिफ गर्न खोजेका हुन् कि विरोध ? आखिर स्वदेशी चिज खानु र जुत्ता लगाउनु पनि अर्थतन्त्र नै हो नि कसो विश्वप्रकाश शर्माज्यू ?

के को ङ्याङ ङ्याङ ?

ओलीले निम्त्याएको जेनजी विद्रोहले पार्टी खरानी भैसक्दा पनि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पद छाड्नु प¥यो भनेर के को ङ्याङ ङ्याङ गरिरहेको होला ?

ओलीले पदै छोड्नु परे त उतिबेलै प्रचण्डलाई छाड्थे होला नि, पद छाड्न पर्ला भनेर दुईतिहाइको सरकारमाथि बन्चरो चलाउने ओलीले बबुरो शंकर र विष्णु भगवानले भन्दैमा पद छाड्लान् त ? कसो महेश बस्नेत कमरेड ?

प्रतिक्रिया दिनुहोस्