काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज नगर्ने बताएका छन् । शनिवार पार्टीको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान स्थापनाका लागि भएका त्याग, बलिदान र सङ्घर्षको जगमा आफूहरू उभिएको बताए ।

उनले भने, “हामी त्यसमा गर्व गर्छौँ । हिजोको त्याग र बलिदानको उचाइमा उभिएकाले हामीले फराकिलो दृश्य देख्न पाएका छौँ ।” ती मूल्यमान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख हुन दिँदैनौँ । म पनि कहिल्यै विमुख हुनेछैन ।”
उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अत्यन्त महत्त्वपूर्ण विषय मानेको उल्लेख गर्दै भने, “आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन सभापति तथा संस्थापक सभापतिको हैसियतले मैले कति भूमिका निर्वाह गर्न सके वा सकेनन्, त्यसको मूल्याङ्कन तपाईँहरूले नै गर्नुहुनेछ ।”आन्तरिक लोकतन्त्र र निष्ठामा आफूले कहिल्यै कम्प्रोमाइज नगर्ने स्पष्ट पार्दै लामिछानेले भने, “मैले यसमा कहिल्यै कम्प्रोमाइज नगर्ने वचनबद्धता गरेको छु र मेरो सम्पूर्ण राजनीतिक जीवनभरि यसका लागि प्रयास गरिरहनेछु ।”














