काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका हल्लाहरूको पछि नलाग्न आग्रह गरेका हुन् ।
समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छु । तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ र रु सम्भवै छैन । त्यसैले यस विषयमा तपाईँहरू कोही पनि भ्रममा नपर्नुहोस् । अहिले हाम्रो पार्टी जुन विचार र मान्यता लिएर अगाडि बढिरहेको छ, त्यसले अवश्य पनि देशमा रहेका सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ, सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ ।’
पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताए । उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबी गरे ।














