
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ । रास्वपाले उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस महाधिवेशनमा सहभागी नहुने भएका छन् । उनीहरूको विकल्पमा एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र नेकपाबाट नेता वर्षमान पुनले प्रतिनिधित्व गर्ने तय भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा आएर महाधिवेशनमा सहभागी हुने निर्णय गरेका छन् भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ उद्घाटन सत्रमा उपस्थित हुँदै छन् ।
यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि शुभकामना दिन चितवन प्रस्थान गरिसकेका छन् । यता श्रम संस्कृति पार्टीबाट भने कुनै पनि प्रतिनिधि सहभागिता हुने छैनन् ।
आज आइतबार भव्य रूपमा उद्घाटन हुने रास्वपाको यस महाधिवेशन अन्तर्गत असार ८ र ९ गते बन्द सत्र तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सञ्चालन हुने कार्यतालिका रहेको छ ।














