काठमाडौं । नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकराबका कारण कमजोर बन्ने गरेको बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताए ।
उनले भने, ‘करिब तीन, चार पटक नेपालका राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे । तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो । जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरुको अंहकारकाबीचमा टकराब भयो, व्यक्तिहरूको बीचमा टकराब भयो । जसको कारणले दुर्घटना भयो ।’
उनले जनमत प्राप्त गरेपछि दलभित्र नेतृत्वको अहङ्कार, व्यक्तिवादी प्रवृत्ति र आन्तरिक टकराब बढ्दा राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गरे ।
थापाले राजनीतिक दलभित्र स्वस्थ आलोचना र आत्मसमीक्षाको संस्कृतिको आवश्यकता औँल्याउँदै आफ्नै पार्टीका नेताहरूलाई पनि प्रश्न गर्न सक्ने साहस हुनुपर्ने बताए । उनले नेताहरूलाई ‘भगवान्’ वा ‘बा’ का रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले राजनीतिक दलहरूलाई क्षति पुर्याएको बताए ।
उनले भने, ‘तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन । हामीले आफ्नो दलका नेताहरूलाई भगवान् र बा बनाएर गल्ती गरिसक्यौँ । तपाईँहरूले नगर्नुहोला । गल्ती गरेको बेला आफ्ना नेताहरूलाई पनि प्रश्न गर्नुहोला । हामीले ढिला गर्यौं, सजाय पनि पायौँ । हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अघि भन्न सक्नुपथ्र्यो, सकेनौँ । हामीले ढिला गर्यौं । त्यसबाट तपाईँहरूले सिक्नुहोला । आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस गर्नुहोला । गल्ती गर्दा अरू पार्टीलाई भन्दा आफ्नै पार्टीलाई भन्न सक्नुपर्छ ।’
कांग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै उनले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताए । गल्ती हुँदा आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कृतिले मात्रै राजनीतिक दललाई लोकतान्त्रिक र उत्तरदायी बनाउन सक्ने उनको भनाइ छ ।
थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई पनि नेतृत्वप्रति अन्धसमर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गरे ।














