काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि सुरु हुँदै छ ।

देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डै ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी रहेका छन् । महाविधेशनको बन्दसत्र चितवन उद्योग सङ्घको प्रर्दशनी केन्द्रमा सुरु हुँदै छ । बन्दसत्र सुरु हुन ढिलाइ भएको हो ।
महाधिवेशन प्रतिनिधिहरूको खानपानको व्यवस्थापन भने आज बिहानबाट सुरु भएको छ । महाविधेशनस्थलमा विहान ७ बजेदेखि ब्रेकफास्ट सुरु भएको छ । महाधिवेशनका प्रतिनिधिहरूलाई बिहान ब्रेकफास्ट, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको खानाको व्यवस्था रास्वपाले गरेको छ ।
प्रतिनिधिहरुलाई बिहान खसीको मासु र भात खुवाइने छ । ४१ सय प्रतिनिधि र अन्य सहभागीलाई बिहानको खानाका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको छ ।
बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ । दियालो फुडल्याण्ड क्षेत्रपुर नारायणगढले ३ दिनका लागि खानाको व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
बिहान र बेलुकाको खानामा कम्तीमा १० आइटम राखिनेछ । मासु नखानेहरुलाई पनिर, च्याउको व्यवस्था हुनेछ, साथमा सिजनल तरकारी पनि राखिने छ ।
बिहान ७ बजेदेखि ब्रेक फास्ट, दिउँसो १ बजेदेखि २.३० बजेसम्म खाना, दिउँसो ३ बजेदेखि ५ बजेसम्म हाइटी र बेलुका ६ बजेदेखि ९ बजेसम्म खानाको व्यवस्था गर्ने तालिका रहेको छ ।














