
काठमाडौं । ‘बतास काण्ड’ मा जोडिएका व्यवसायी किशोर प्रधानले नेपाल लिकर्स प्रा.लि.को शेयर हस्तान्तरणका लागि १५ करोड रुपैयाँको ‘बार्गेनिङ’ गरेको खुलासा भएको छ ।
स्वर्गीय व्यवसायी भक्तवीर सिंह तुलाधरले कुनै लगानी बिना नै प्रधानलाई साढे ३ लाख रुपैयाँ बराबरको ४ प्रतिशत (३ हजार ७५० कित्ता) शेयर निःशुल्क उपलब्ध गराएका थिए । तर, पछि कम्पनीको पुँजी वृद्धि गर्दा प्रधानले थप लगानी नगरेपछि उनको हिस्सा घटेर ०.०२ प्रतिशतमा सीमित भएको थियो ।
तुलाधर पक्षले विगत चार वर्षदेखि उक्त शेयर सम्मानजनक मूल्य दिएर मिलाउन पटक–पटक आग्रह गर्दा पनि प्रधानले अस्वीकार गर्दै उल्टै १५ करोड रुपैयाँ माग गरिरहेको उनीमाथि आरोप छ । दुःख दिने नियतले प्रधानले काठमाडौं जिल्ला अदालतमा समेत अनावश्यकरुपमा कीर्ते मुद्दा हालेको तुलाधार पक्षको आरोप छ ।
विवाद बढ्दै जाँदा किशोर प्रधानले तुलाधरको घरमा अपरिचित तथा गुण्डा प्रकृतिका मानिसहरू पठाएर मनोवैज्ञानिक त्रास र धम्की दिएको भन्दै तुलाधर पक्ष कानुनी उपचार खोज्न बाध्य भएको छ ।
काठमाडौं महानगरपालिका २८, कमलादी निवासी ५१ वर्षीय राजेश वीर सिंह तुलाधरले आफ्नो जीउधनको सुरक्षा सुनिश्चित गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बबरमहल र मालिगाउँस्थित प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
दर्ता भएको उक्त निवेदनमा काठमाडौँ महानगरपालिका वडा नं. ०१ निवासी किशोर प्रधान र रिता सिंहले आफूमाथि ‘झै–झगडा’ गरी भय र त्रासको वातावरण सिर्जना गरेको उल्लेख छ ।
नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिशवीर सिंह तुलाधरले आफूहरूले संस्थागत सुशासनमा रहेर पारदर्शी काम गर्दागर्दै पनि अदालतमा मुद्दा हालिएको र सुरक्षा चुनौती बढाइएपछि बाध्य भएर राज्यका सुरक्षा निकाय गुहार्नु परेको बताएका छन् ।
यस विवाद र धम्कीका कारण परिवारमा मानसिक असर पर्नुका साथै व्यवसाय सञ्चालन गर्न पनि समस्या भएको तुलाधर पक्षको भनाइ छ । यद्यपि, आरोपित व्यवसायी प्रधानले भने आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन् ।














