काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन् । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

एमालेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए । कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ गाडी लिएर होटल पुगेका थिए । प्रहरीले ‘जाने बेला भयो, निस्कनुस्’ भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
एसपी पोखरेलले पौडेललाई आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएका हुन् । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आजै पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
कार्यक्रममा शङ्कर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो । कार्यक्रम जारी रहँदै गर्दा भएको यो आकस्मिक पक्राउले एमाले कार्यकर्ताहरूमाझ खैलाबैला मच्चिएको छ ।














