Logo
Logo

रवि-बालेनबीचको सम्बन्धमा शंका


1.8k
Shares

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै योगदान नै नभएको तर विगत ७५ वर्षदेखि नेपालको राजनीतिमा त्याग, तपस्या, सङ्घर्ष र बलिदानी दिएर स्थापित पुराना दलहरूको कमी कमजोरीमा टेकेर चार वर्ष अगाडि मात्रै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको गत आइतबार देखि चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

जेनजी विद्रोहको जगमा उभिएको दुईतिहाइको प्रधानमन्त्री बालेन साहप्रति युवाहरूको ठूलै आशा र भरोसा छ । त्यो आशाको दियोलाई प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवि लामिछानेले निभ्न दिनुहुँदैन । कांग्रेस, एमाले र माओवादीले केही गरेनन् भन्ने भाष्य सामाजिक सञ्जालबाट आम युवाहरूमा स्थापित गरेर हामीले केही गर्छौँ भन्ने विश्वास जगाएकै कारण पार्टी स्थापनाको चार वर्षभित्रै रास्वपा नेपालको सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको छ ।

संविधान, संसदीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सबैको सहभागितामा पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता पार्टी सभापति रवि लामिछानेले महाधिवेशनको उद्घाटन सत्रमा जनाएका छन् । सभापति लामिछानेको परिपक्व भाषणप्रति अन्य दलका सहभागी नेताहरूले प्रशंसा मात्रै गरेनन्, विगतका त्रुटि कमजोरीबाट आफ्नो पार्टीलाई जोगाउन पनि सुझाव दिए । जवाफमा सभापति लामिछानेले नेपाली कांग्रेस र एमाले जस्ता पुराना पार्टीभित्र देखिएको गुटगत राजनीतिप्रति चिन्ता व्यक्त गर्दै पुराना दलहरू गुटगत राजनीतिमा नअल्झेर अगाडि बढेमा रास्वपा सहकार्य गर्न तयार रहेको बताए ।

पार्टी सभापति लामिछानेको छोटो मन्तव्यले प्रधानमन्त्री बालेन साहलाई झस्काएको हुनुपर्छ । पाँचै वर्ष प्रधानमन्त्रीको पद बालेन साहलाई छाडेको दाबी पार्टी सभापति लामिछानेले गर्दै खेलको मैदानमा आफ्नो खुट्टामा बल आए पनि त्यो बल बालेनलाई नै पास गरेर गोल हान्ने मौका दिने प्रतिबद्धता जनाउनुभित्र धेरै अर्थ लुकेको छ ।

अर्थात्, बालेन साह बीचैमा असफल भएर आफूलाई प्रधानमन्त्रीको जिम्मेवारी आए पनि आफूले बालेन साहलाई नै त्यो जिम्मेवारी दिने भन्ने यसको आशय बुझिन्छ । त्यति मात्र होइन, राजनीतिका नयाँ खेलाडी लामिछानेले यो सँगसँगै रास्वपा फुट्यो भने अरूका कारणले नभई आफ्नै कारणले फुट्ने चेतावनी दिँदै भने– रास्वपालाई फुटाउने तागत अरू कसैसँग छैन, रास्वपा लड्यो भने आफ्नै खुट्टा अल्झिएर लड्छ । तर, राजनीति मानिसहरूले जोगी बन्न गर्दैनन् भन्ने कुरा विश्व इतिहासले प्रमाणित गरेको छ ।

यदि, रास्वपा नभई दिएको भए बालेन साहले प्रधानमन्त्री हुने अवसर पाउने थिएनन् । किनभने, रास्वपा निर्माण गर्न सभापति लामिछानेले जति रगत पसिना बगाउनुप¥यो, त्यसको तुलनामा बालेनले केही गर्नु परेन, किनभने बालेन रास्वपा थिएनन् ।

सभापति लामिछानेलाई राजनीतिमा स्थापित हुन नदिन खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटा मुद्दा लगाएर जेल कोचेपछि विकल्पका रूपमा बालेन साह रास्वपाको वरिष्ठ नेता बनेर घण्टी हल्लाउन हिँडेका हुन् । यो घटनाको पछाडि पनि ठूलो भूराजनीति लुकेको छ । जुन कुरा समय क्रममा प्रकट हुने नै छ ।

महाधिवेशन उद्घाटन सत्रको भाषणमा प्रधानमन्त्री बालेन साहले आफू लोकल गाडीको नभई एक्सप्रेस गाडीको चालक भएकाले गन्तव्यमा नपुगी गाडी बीचमै नरोकिने बताए । तर, गन्तव्यसम्म पुग्न इन्धन अर्थात् ऊर्जा चाहिन्छ, त्यो ऊर्जा भनेको सिङ्गो रास्वपा हो, बालेन होइन । अर्थात्, रास्वपा भनेको रवि, रवि भनेको रास्वपा हो भन्ने कुरा बालेनले राम्रैसँग बुझेका छन् । र, रविलाई कानुनी कठघरामा उभ्याई राख्न उनले न्यायालयमा राजनीति गरेका छन् । अख्तियार कब्जा गर्ने रणनीति बनाएका छन् । राज्य सत्ता कब्जाको उनको रणनीति ओलीको जस्तै घटनाक्रमले देखाएको छ । यो क्रम कहाँ गएर टुंगिन्छ भन्ने कुराले रास्वपाको भविष्य निर्धारण गर्छ ।

रास्वपाले दुईतिहाइ मत ल्याएर सरकार बनाएपछि उनीमाथिको संगठित अपराधको मुद्दा धमाधम फिर्ता हुँदै छ । यही क्रम जारी भएर अन्य मुद्दा पनि फिर्ता भयो भने एक्सप्रेस गाडी कुनै पनि बेला महेन्द्र राजमार्गमा दुर्घटना हुनसक्छ । किनभने, रविले गरेको त्याग र सर्वमान्य नेता गणेशमान सिंहले गरेको त्याग फरक कुरा हुन् ।

नेपाली कांग्रेसका संस्थापक नेता जसको नेतृत्वमा ०४६ सालको संयुक्त जनआन्दोलन सम्पन्न भयो र त्यसपछिको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो, त्यो बहुमत सर्वमान्य नेता सिंहका लागि अभिशाप बन्यो । ०४८ सालमा कांग्रेस नेतृत्वको गिरिजाप्रसाद कोइरालाको सरकार बनेपछि सिंह मात्र होइनन्, पार्टी सभापति कृष्णप्रसाद भट्टराईसमेत अपहेलित बन्न पुगे । कोइराला अधिनायकवादतर्फ लम्कँदा गणेशमानले भनेका थिए– ‘पुच्छरले कुकुर हल्लायो ।’

अहिले पार्टी सभापति लामिछाने छन्, सिंहले भोगेजस्तो अवस्था रविले भोग्नु नपरोस् । हुन त बालेनलाई प्रधानमन्त्री बनाउनुको पीडा सरकार बनेको भोलिपल्टदेखि सभापति लामिछानेले महसुस गरिरहेका छन्, मन्त्रिमण्डल गठन गर्दादेखि बजेट निर्माणमा समेत बालेनले हस्तक्षेप गरेर रविको हात काटिदिएको अवस्था छ । पछिल्लोपटक बालेनले सामाजिक सञ्जालमा पोस्ट गरेको देश बनाउने टिमको अनुहार रविका लागि व्यङ्ग्य हो । तर उनलाई सरकारको व्यवहार मन परेको छैन । सरकारले गरेका कमी कमजोरीहरूमाथि आफूले जवाफ दिनु परेको छ ।

सरकार बनेदेखि सरकार र पार्टीबीच समन्वयको अभाव देखिएको छ । मानौँ, दुई तिहाइ बहुमत बालेनका कारण आएको हो, त्यसैले पार्टीसँग हरेक कुरामा समन्वय गर्न आवश्यक छैन । बालेनको यही मानसिकता रास्वपा फुटको कारण बन्नसक्छ । यो कुराप्रति सचेत भएरै सभापति लामिछानेले उद्घाटन भाषणमा सांकेतिक रूपमा धेरै कुरा बालेका हुन् ।

रविको उदारता र बालेनको घमण्ड दुई तिहाइका लागि खतराको संकेत हो । विगतमा पनि दुई तिहाइ ल्याउने पुराना दल अहिले पनि जिवीतै छन्, तर ढुकढुकी मात्रै बाँकी छ । त्यहाँभित्र सिद्धान्त, विचार होइन, स्वार्थले श्वास फेरिरहेको छ ।

यति पीडा हुँदाहुँदै पनि जुन विशाल हृदयले उद्घाटन सत्रमा सभापति लामिछानेले प्रधानमन्त्री बालेनलाई आश्वस्त पार्न खोजेका छन्, त्यतिले मात्रै गाडी गन्तव्यसम्म पुग्दैन, गन्तव्यसम्म गुडाउन अक्कल चाहिन्छ भन्ने कुरा बालेनले पक्कै पनि हेक्का राखेको हुनुपर्छ ।

सभापति लामिछानेले प्रधानमन्त्रीमा पाँचै वर्ष साह रहने प्रस्ट्याए, जवाफमा प्रधानमन्त्री साहले पार्टीमा कुनै पक्ष–विपक्ष नहुने उद्घोष गरे । दुवै नेताले पार्टीभित्र गुटगत राजनीति नगर्न नेता–कार्यकर्तालाई चेतावनी दिए पनि निर्वाचनसम्म आइपुग्दा गुटगत राजनीति उदांगिने देखिन्छ ।

पार्टी सभापति लामिछानेले आफूहरूलाई लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास हुने बुझेको बताउँदै आफूहरूले नेपाली जनता र इतिहासलाई साक्षी राखेर गरेको सहमतिको एक–एक अक्षर इमानदारीसाथ पालना गर्ने बताए । ‘यो हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठूलो कुरो होइन,’ लामिछानेले उद्घाटन भाषणको समापन गर्दै भने ।

बालेनसँगको सहमति कार्यान्वयनका लागि रास्वपाले चुनावअगावै वरिष्ठ नेताको खुट्टामा बल पु¥याएको बताउँदै उनले बालेनतर्फ इंगित गर्दै भने– ‘भटाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहको हुनेछ । झुक्किएर त्यो बल मेरो खुट्टामा आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो । किनकि, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुक्ली लगाइदिनेहरू पनि धेरै छन्,’ लामिछानेले भने ।

प्रधानमन्त्री बालेनले भने– ‘नबोलूँ भन्छु, बोल्ने दिन आइहाल्छ’ भन्दै आइतबार भाषण थालेका साहले भारतसँगको सीमा विवाद दुई देश मिलेर समाधान गर्ने र यसमा अन्य मध्यस्थकर्ता नखोज्ने प्रस्टीकरण दिए । ‘सीमाको विषयमा चिन्ता लिनुभएको थियो । हामीले सीमाको विषयमा बोल्दाखेरि आपत्ति जनाउनुभयो, मलाई अचम्म लाग्यो । ठीक छ, अब तपाईंसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ,’ उनले भने, ‘हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ ।’ तर, नेपालले भारतको भूमि मिचेको कुरा भने लुकाए ।

प्रतिक्रिया दिनुहोस्