भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरू हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक परिमार्जन गरी सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार रातभरिमा सम्पूर्ण चुनावी प्रक्रिया सम्पन्न गरेर बुधबार बिहानदेखि मतदान सुरू गर्न लागिएको हो। यद्यपि, मतदान सुरू हुने निश्चित समय भने खुलाइएको छैन।

निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध र अन्तिम नामावली प्रकाशन लगायतका सम्पूर्ण कामहरू आज रातभरिमा सम्पन्न गरिनेछ। हाल महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार सभापति पदका लागि मनोनयन फारम दर्ता गर्न आज साँझ ७ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरिएको थियो।
पार्टी सभापति पदका लागि रवि लामिछानेले उम्मेदवारी दिँदै छन्। उनको उम्मेदवारीको प्रस्तावकका रूपमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह रहने स्रोतले जानकारी दिएको छ। मनोनयन फारम दर्ताका लागि लामिछाने र शाह सँगसँगै महाधिवेशन स्थलमै रहेको निर्वाचन आयोगको सचिवालयमा पुगिसकेका छन्।
त्यस्तै, पार्टीको केन्द्रीय सदस्य पदका लागि साँझ ७:३० बजेदेखि बेलुकी ९:३० बजेसम्म महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालयबाट फारम वितरण तथा दर्ता गर्ने कार्यतालिका रहेको छ। उम्मेदवारी दर्ताको प्रक्रिया सकिएलगत्तै राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसलगत्तै राति १०:३० बजेसम्म उम्मेदवारहरू विरुद्ध दाबी–विरोध दर्ता गर्ने समय दिइएको छ।
प्राप्त दाबी–विरोधमाथि राति ११ बजेसम्म जाँचबुझ गरिनेछ भने उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ११:१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको छ। आजै राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सोही समयदेखि मौन अवधि सुरू हुने निर्वाचन आयोगले जनाएको छ।
यससँगै भोलि असार १० गते बिहानदेखि पहिलो चरणको मतदान प्रक्रिया सुरू हुनेछ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि मतदान हुने कार्यतालिका छ। मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरू गरी मतपरिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ। पहिलो चरणको परिणाम सार्वजनिक भएपछि मात्र दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन हुने र त्यसका लागि आयोगले छुट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।














