Logo
Logo

रोनाल्डोको ‘कमब्याक’, ओलचकको बोली बन्द, मुख्य चुनौती मेस्सी 


378
Shares

काठमाडौं । पहिलो खेलमा कङ्गोसँग रोकिएपछि चौतर्फी आलोचना खेपेका रोनाल्डोले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै क्यामरा अघि उभिएर गर्जिए– ‘आई एम ब्याक !’

उपाधिको बलियो दाबेदार मानिएको पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको कङ्गोलाई समेत पराजित गर्न नसकेपछि आलोचना हुनु स्वाभाविकै थियो । त्यसमाथि रोनाल्डो आफैँले गोल गर्न नसकेपछि ‘अब उनी पोर्चुगलका लागि बोझ बन्दैछन्’ भन्दै खिसिट्युरी समेत सुरु भयो । तर, ती आलोचकहरूलाई मङ्गलवार उज्बेकिस्तानविरुद्धको खेलमा रोनाल्डोले दुई गोल हानेर दह्रो झापड हाने । 

समूह ‘के’को पहिलो खेलमा, पहिलो पटक विश्वकप खेलिरहेको कङ्गोसँग १–१ को अप्रत्याशित बराबरीमा रोकिँदा पोर्चुगिज टोलीसँगै रोनाल्डोको पनि तीव्र आलोचना भएको थियो । मेस्सी, एम्बाप्पे र हालान्डजस्ता स्टारहरूले विश्वकपको सुरुवाती खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभाव जमाउँदा रोनाल्डो छायामा परेको विश्लेषण भइरहेको थियो । मेस्सीले आफ्नो पहिलो खेलमै ह्याट्रिक गरेका थिए भने एम्बाप्पे र हालान्डले दुई–दुई गोल गरेका थिए । यी तीनै खेलाडीले आफ्नो दोस्रो खेलमा पनि समान दुई–दुई गोल थप्दै गोल्डेन बुटको दौडलाई रोमाञ्चक बनाइसकेका थिए ।

मेस्सीले पाँच गोल गरिसक्दा पनि रोनाल्डोले खाता खोल्न सक्ने हुन् कि होइनन् भन्ने संशय थियो । यसरी प्रतिस्पर्धी खेलाडीहरू लगातार चम्किरहँदा दबाबमा परेका रोनाल्डोले दोस्रो खेलमा भने ‘बाघ बुढो भए पनि सिकार गर्न छोड्दैन’ भन्ने सन्देश दिएका छन् । खेल सुरु भएको ६ मिनेटमै जोआओ कान्सेलोको क्रसलाई रोनाल्डोले उत्कृष्ट हाफ–भलीमार्फत जाली चुमाउँदै खाता खोलेका थिए । त्यसपछि ब्रुनो फर्नान्डेसको सटिक थ्रु–बललाई सदुपयोग गर्दै विपक्षी डिफेन्स चिरेर उनले पहिलो हाफमै दुई गोल गरिसकेका थिए । त्यसपछि धेरैलाई लागेको थियो– आज रोनाल्डोले पनि ह्याट्रिक हान्छन् । तर, उनले दोस्रो हाफमा भने गोल गर्न सकेनन् । 

उज्बेकिस्तानविरुद्धको खेलमा दुई गोल गरेसँगै उनले कीर्तिमान समेत रचेका छन् । उनी फुटबल इतिहासमै लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो र एकमात्र खेलाडी बनेका छन् । खेलपछि आफ्नो ’कमब्याक’ सन्देशबारे बोल्दै रोनाल्डोले गर्वका साथ भने, ‘यो केवल आलोचकहरूले नबिर्सिऊन् भनेर हो, म २३ वर्षदेखि यसैगरी खेलिरहेको छु ।’

तर, तीतो सत्य के हो भने अबका खेलहरू रोनाल्डो र पोर्चुगलका लागि त्यति सहज हुने छैनन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलले यही जुन २८ मा कोलम्बियाको सामना गर्दै छ। अहिले समूह ‘के’को शीर्ष स्थानमा रहेको कोलम्बियालाई हराउन पोर्चुगलका लागि फलामको चिउरा चपाए सरह हुनेछ । कोलम्बिया त्यही टोली हो, जसले विश्वकप छनोटमा ब्राजिलजस्तो फुटबलको पावरहाउसलाई २–१ गोल अन्तरले स्तब्ध पारेको थियो । यदि पोर्चुगलले कोलम्बियालाई हराउँदै समूहको शीर्ष स्थान ९टेबल टप० ओगट्न सक्यो भने राउन्ड अफ ३२ मा तुलनात्मक रूपमा कमजोर टोलीको सामना गरे पुग्छ । समूह विजेता बनेको खण्डमा पोर्चुगलले राउन्ड अफ ३२ मा उत्कृष्ट तेस्रो हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । तर, पोर्चुगलले खेल जित्दै अघि बढेमा क्वार्टरफाइनलमा भने अर्को बलियो टोलीको सामना गर्नुपर्ने हुन सक्छ-त्यो हो लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना ।

साविक विजेता अर्जेन्टिना अहिले समूह ‘जे’मा छ र आफ्नो समूहको विजेता बन्ने निश्चित जस्तै छ । अहिलेसम्म एक गोल पनि नखाएको अर्जेन्टिनाले समूहकै सबैभन्दा कमजोर टोली जोर्डनसँग खेल्न बाँकी छ । समान तीन–तीन अङ्क रहेका अस्ट्रिया र अल्जेरिया आपसमा भिड्दा कुनै एक टोलीले जित निकाले पनि र अर्जेन्टिना जोर्डनसँग अप्रत्याशित रूपमा हारे पनि अर्जेन्टिना नै शीर्ष स्थानमा रहने बलियो सम्भावना छ । किनभने गोल अन्तरमा अर्जेन्टिना निकै अगाडि छ र जोर्डनले जिते पनि अर्जेन्टिनामाथि गोलको वर्षा गर्नु असम्भव  छ । त्यसैले, यदि अर्जेन्टिना र पोर्चुगल दुवै आ–आफ्नो समूहको विजेता बन्दै नकआउट चरणका खेलहरू पनि जित्न सफल भएमा, क्वार्टरफाइनलमा मेस्सी र रोनाल्डोको ऐतिहासिक भेट हुने पक्का छ ।

ममेस्सी र रोनाल्डोको टोलीमा कुन बलियो ?

यसपटक पनि विश्वकप उपाधिको प्रमुख दाबेदार टोली हो– अर्जेन्टिना । साविक विश्वविजेता अर्जेन्टिना यसपटक सन् १९६२ को ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने दुर्लभ कीर्तिमान बनाउने दाउमा छ । सन् २०२२ को कतार विश्वकप र २०२४ को कोपा अमेरिका जितेपछि लियोनल स्कालोनीको यो टोली मानसिक र रणनीतिक रूपमा अन्य टोलीभन्दा निकै बलियो देखिन्छ । ३९ वर्षको उमेरमा पनि फुटबलका जादुगर लियोनल मेस्सी टोलीको मेरुदण्ड र प्रेरणाको स्रोतका रूपमा मैदानमा छन् । मेस्सीसँग खेललाई बुझ्ने असाधारण खुबी र निर्णायक क्षणमा गोल गर्ने अद्भुत क्षमता छ । साथै जुलियन अल्भारेज, लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र रक्षापंक्तिमा क्रिस्टियन रोमेरो जस्ता खेलाडीहरू आफ्नो खेल जीवनको स्वर्णिम लयमा छन् । गोलपोस्टमा भने विपक्षीका लागि चुम्बकजस्तै सावित हुने एमिलियानो मार्टिनेज छन् ।

यो टोलीको सबैभन्दा बलियो पक्ष भनेको खेलाडीहरूबीचको अभूतपूर्व एकता हो । मैदानमा यो टोली कुनै सामान्य फुटबल टिमभन्दा पनि एउटा बलियो ’ग्याङ’ जस्तो देखिन्छ, जसको कुशल नेतृत्व मेस्सीले गरिरहेका छन् । मेस्सीका लागि अर्जेन्टिनाका खेलाडीहरू मैदानमा जे गर्न पनि पछि हट्दैनन् । यही ’टिम स्प्रिट’ का कारण अर्जेन्टिनाले २०२२ को विश्वकप जितेको थियो । तर, यसपटक टोलीमा डि मारियाको अभाव भने खड्किन सक्छ । यसअघिको विश्वकप र कोपा अमेरिकाको फाइनलमा डि मारियाले नै निर्णायक गोल गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसपटक उनको त्यो भूमिका जुलियन अल्भारेज वा लाउतारो मार्टिनेजमध्ये एकले निभाउनुपर्ने देखिन्छ।

अब पोर्चुगलको कुरा गरौँ । हालसम्म कहिल्यै विश्वकपको फाइनलमा पुग्न नसकेको यो टोली यसपटक जसरी भए पनि उपाधि उचाल्न चाहन्छ । आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो टोलीका मुख्य खम्बा हुन् । फुटबलका लगभग सबै उपाधि जितिसकेका रोनाल्डोका लागि केवल विश्वकपको ट्रली मात्र चुम्न बाँकी छ । आफ्ना समकालीन प्रतिस्पर्धी लियोनेल मेस्सीको उचाइ भेट्न पनि उनलाई यो विश्वकपको ट्रली जसरी पनि उचाल्नु छ ।

रोनाल्डोले पहिलेको जस्तो ’ड्रिबलिङ’ गर्न नसके पनि ’डी–बक्स’ एरियामा बल पाएमा उनी अझै पनि उत्तिकै घातक फिनिसर हुन्, जुन कुरा उनले उज्बेकिस्तानविरुद्धको खेलमा प्रमाणित गरिसकेका छन् । यसपटक पोर्चुगलको टोलीमा ब्रुनो फर्नान्डेज र भिटिन्हा जस्ता मिडफिल्डरहरूले रोनाल्डोका लागि अवसर सिर्जना गरिदिनुपर्ने देखिन्छ । अग्रपंक्ति र मिडफिल्ड जस्तै पोर्चुगलको रक्षापंक्ति पनि निकै मजबुत छ ।

पहिले रोनाल्डो एक्लैले टोलीको भार बोक्नुपर्ने अवस्था थियो, तर अहिले पोर्चुगलसँग खेलाडीहरूको ‘स्वर्णिम पुस्ता’ छ । टोलीसँग भर्खरै पीएसजीलाई लगातार दोस्रो च्याम्पियन्स लिग जिताउने भिटिन्हा, जोआओ नेभेस र नुनो मेन्डेस छन् । प्रिमियर लिगकै उत्कृष्ट मिडफिल्डर ब्रुनो फर्नान्डेज र साउदी अरबमा तहल्का मच्चाइरहेका जोआओ फिलिक्स पनि टोलीमा छन् । 

रक्षापंक्तिमा बर्नार्डो सिल्भा, राफायल लियो र रुबेन डियासजस्तो पर्खाल छ भने गोलपोस्टमा डिएगो कोस्टा छन् । यसपटक टोलीसँग एउटा बलियो भावनात्मक शक्ति पनि छ । युइएफए नेसन्स लिग जिताउन भूमिका खेलेका र केही वर्षअघि दुर्घटनामा ज्यान गुमाएका सहकर्मी डियोगो जोटाको स्मृतिमा खेलाडीहरू हातमा कालो ब्यान्ड बाँधेर मैदान उत्रिएका छन् । यो दिवङ्गत साथीप्रतिको सम्मान र ट्रफी उनकै नाममा समर्पण गर्ने भावनाले टोलीलाई भावनात्मक रूपमा एकजुट बनाउने अपेक्षा गरिएको छ, तर त्यो मैदानमा पूर्ण रूपमा देखिन भने अझै बाँकी छ । 

बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस्