Logo
Logo

जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा


63
Shares

काठमाडौँ । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि मुलुकका चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन्।

यो संयोग मदन भण्डारी फाउन्डेसनले जुराइदिएको हो। फाउन्डेसनका अनुसार असार १४ गते आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा चारै जना पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुन लागेका हुन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा फाउन्डेसनले ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह आयोजना गर्दैछ। सोही समारोहमा ओली, प्रचण्ड, नेपाल र खनालले मञ्च साझा गर्ने तय भएको हो।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्। वि.सं. २०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा दिवंगत भएका तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति र योगदानलाई स्मरण गर्दै असार १४ गते जन्मजयन्ती मनाउन लागिएको हो।

जन्मजयन्तीका अवसरमा नेताहरूले मदन भण्डारीको वैचारिक योगदानबारे चर्चा गर्नुका साथै विभिन्न विधामा पुरस्कार वितरण समेत गरिनेछ। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्