काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेर मात्रै सबैथोक नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा उनले भने, “हाम्रो अनुभवले भन्छ– उमेर मात्र सबै कुरा होइन, युवा मात्र सबै कुरा होइन ।”

३५–३६ वर्षको उमेरमा सबै बालेन शाह नहुने भन्दै लिङ्देनले भने, “३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह हुँदैनन् । अहिले ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन् ।” उनले ८० वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाशक्ति अमेरिका नेतृत्व गरिरहेको उदाहरण दिए ।
राप्रपामा २५ देखि ८५ वर्षसम्मका सदस्यहरू सक्रिय रहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भने, “यो पार्टी युवाको ऊर्जा र अग्रजको अनुभवको उत्कृष्ट संयोजन हो ।” नेतृत्वको मुख्य जिम्मेवारी सबैलाई मिलाएर लैजानु भएको भन्दै उनले कुनै कमी नराख्ने प्रतिबद्धता जनाए । साथै हुँदै नभएका कुरा सुनेर निर्णय गर्ने र अफवाह फैलाउने काम तत्काल बन्द गर्न आग्रह गरे । “यस्तो कार्यले पार्टी र व्यक्तिलाई कहीँ पनि पुर्याउँदैन,” उनले भने ।














