Logo
Logo
बक्रदृष्टि

राजेन्द्र लिङ्देनको कुरा सुनेर बाबुरामले जिब्रो टोके !


126
Shares

कसलाई के धन्दा घर ज्वाइँलाई खानकै धन्दा भनेझैँ जहाँ पुगे पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजाकै कुरा गर्न छाडेका छैनन् । राजा आऊ, देश बचाऊ भन्दै जिन्दगीभर राजनीतिमा होमिएका लिङ्देनले राजालाई बोक्दा बोक्दा थाकेकाले होला, चितवन पुगेर राजा ल्याउने जिम्मा बालेनको काँधमा बोकाएका छन् ।

रास्वपाको महाधिवेशन उद्घाटन गर्न चितवन पुगेका लिङ्देनले राजा ल्याउँछन् भनेर राजावादीहरुले पनि बालेनलाई भोट हालेको रहस्य खोल्दा मञ्चमा बसेका डा. बाबुराम भट्टराईले जिब्रो टोके ।

ये अलग वंदा है

जनमत पार्टीका अध्यक्ष सिके राउतको पार्टीलाई फागुन २१ को निर्वाचनमा रास्वपाले धुलो चटाएपछि राउत तिरिमिरी झ्याइँ भएका छन् ।

निर्वाचनपछि सायद पहिलोपल्ट सार्वजनिक कार्यक्रममा चितवन झुल्किएका राउतले बालेनको तारिफ गर्दै भने– ये अलग बंदा है, ये बहुत डाइनामिक, इन्टिलिजेन्स एण्ड स्टाइलिष्ट माइन्ड सेटका बंदा है भन्दा बालेन, राउततिर फर्केर मुसुमुसु हाँसिरहेका थिए । सर्पले सर्पको खुट्टा देख्छ भनेको सायद यही हो कि कसो उपेन्द्र यादवज्यू ?

हाड नभएको जिब्रो

हाड नभएको जिब्रो जता पनि फर्कन्छ भनेझैँ रास्वपा सभापति रवि लामिछानेको जिब्रो लड्बडिएर होला चितवनको महाधिवेशनमा उनले बालेनलाई इंगित गर्दै भने– रास्वपालाई लडाउने शक्ति कसैसँग छैन, रास्वपा लड्यो भने आफैँ खुट्टा अल्झिएर लड्छ भन्दा बालेनको अनुहारमा कालो बादल छाएको देखिन्थ्यो । कसो मनिष झा ज्यू ?

बलको कथा

रविले बालेनलाई ढाडस दिँदै भने– ‘बल बालेनको खुट्टामा छ, जति सक्नुहुन्छ गोल गर्नुस्, मौका यही हो, फुत्किएर त्यो बल मेरो खुट्टामा आयो भने पनि मैले त्यो बल तपाईंकै खुट्टामा पास गर्नेछु ।’

रविमा प्रधानमन्त्रीको पद त्याग गर्नुको पीडा कति रैछ भन्ने कुरा यही बलको कथाबाट बुझ्न सकिन्छ । उनको यो शब्दले बालेन झस्किएको हुनुपर्छ । तर, बालेन पनि कहाँ त्यत्ति उल्लु छन् र, आफ्नो खुट्टामा आएको बल रविको खुट्टामा के पर्न देलान् ? कसो, लिमा कमरेड…?

विचरा बाबुराम

कुनै बेला बालेन र रविभन्दा चर्चित, शक्तिशाली जनयुद्धका नायक डा. बाबुराम भट्टराई पनि रास्वपाको महाधिवेशन हेर्न टुप्लुक्क चितवन पुगेको देखेर वर्षमान पुन मञ्चमै मुसुमुसु हाँसिरहेका थिए ।

जब बाबुरामको बोल्ने पालो आयो र उनले भने ‘पाँच वर्षसम्म मिलेर ढुक्कले शासन गर्नुस्, अझ १०, १५ वर्षसम्मै राजनीतिक स्थिरताका लागि शासन गर्नुस् भन्दा वर्षमान लाजले भुतुक्कै भए । माओवादीका भगौडा बाबुरामको यो अर्ति उपदेश सुनेर माओवादी छाडेर रास्वपाको सांसद बनेका एक माननीयले भन्दै थिए– १७ हजारको जिम्मा कसले लिने… ?

एक्सप्रेस वे

बालेनको गाडी ब्रेक फेल भएर बीचमै एक्सिडेन्ट हुने हो कि भन्ने चिन्ता एमाले नेता प्रदीप ज्ञवालीलाई रै’ छ । त्यसैले उनले रास्वपा महाधिवेशनमा गाडी र ‘ब्रेक’को प्रसंग निकाले ।

ज्ञवालीको भाषणलाई ध्यानपूर्वक सुनिरहेका बालेनले त्यसको जवाफ फर्काउँदै भने– हाम्रो गाडी एक्सप्रेस वे मा कुदिरहेको छ, ब्रेकको चिन्ता नगर्नुस्, कमरेड गन्तव्यमा नपुग्दासम्म बिचमै ब्रेक लगाउने अवस्था आउँदैन भनेपछि प्रदीप ज्ञवाली पेट मिचीमिची हाँसे ।

प्रतिक्रिया दिनुहोस्