काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धताको आवश्यकता रहेको बताएका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले नेपालको कृषि, संस्कृति र जनजीवनसँग असार १५ को विशेष सम्बन्ध रहेको बताए । धान नेपालको प्रमुख खाद्यान्न बाली मात्र नभई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड र नेपाली सभ्यताको अभिन्न हिस्सा रहेको उनको भनाइ रहेको छ ।
आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ-बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ तथा कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको आवश्यकता रहेको बताए ।
उनले नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली तथा कृषि क्षेत्रमा राज्यको लगानी अझ प्रभावकारी बनाउन आवश्यक बताए । आज पनि किसानहरू समयमै मल, बीउ, सिँचाइ तथा उत्पादनको उचित मूल्य नपाउने समस्याबाट पीडित रहेको र जलवायु परिवर्तनका कारण कृषिमा थप चुनौती सिर्जना भएको उनले बताए ।
यी चुनौतीहरूको सामना गर्न कृषि अनुसन्धान, जलवायुमैत्री प्रविधिको विकास, कृषि बिमा तथा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी रहेको आङदेम्बेले औँल्याए । बर्सेनि धान तथा चामलको आयात बढ्दै जानु चिन्ताको विषय बनेको भन्दै उनले भने, ‘उर्वर कृषि भूमि बाँझो रहने अवस्थाको अन्त्य गर्दै युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, कृषिलाई सम्मानित र लाभदायी पेसाका रूपमा विकास गर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबिच साझा प्रतिबद्धता आवश्यक छ।’














