Logo
Logo

इतिहास रचेको डीआर कङ्गो र ६० वर्षे खडेरी तोड्न खोज्ने इङ्ग्ल्यान्ड भिड्दै


0
Shares

काठमाडौं। फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत आज राती ९ः४५ बजे इङ्ग्ल्यान्डले पहिलो पटक नकआउट चरण पुगेको डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो) सँग प्रतिस्पर्धा गर्दैछ।

समूह चरणमा अपराजित रहँदै अगाडि बढेको इङ्ग्ल्यान्ड क्वाटरफाइनलतर्फ अर्को कदम चाल्ने लक्ष्यमा छ। तर, हालको प्रदर्शन खासै प्रभावशाली नरहेकाले प्रशिक्षक थोमस टुकेलको टोलीले डीआर कङ्गोलाई सहज रूपमा लिने अवस्था छैन।

इङ्ग्ल्यान्डले समूह ‘एल’ को विजेताका रूपमा ७ अंक जोड्दै नकआउट चरणमा स्थान बनाएको हो। उसले पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो भने घानासँग गोलरहित बराबरी खेल्यो। यस्तै, समूह चरणको अन्तिम खेलमा पानामालाई २–० ले हराएको थियो।

यता, डीआर कङ्गो समूह ‘के’ मा ४ अंकसहित तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम ३२ मा पुगेको हो। उसले पोर्चुगलसँग १–१ को बराबरी खेलेको थियो भने कोलम्बियासँग १–० ले पराजित भएको थियो। अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ ले हराउँदै कङ्गोले इतिहास रचेको हो।

इङ्ग्ल्यान्डका लागि कप्तान ह्यारी केन र जुड बेलिङघमले समूह चरणमा कुल ५ गोल गर्दै टोलीलाई नकआउट चरणसम्म पुर्‍याएका थिए। यद्यपि, टोलीको खेलशैली र सन्तुलनबारे अझै प्रश्न उठिरहेका छन्। पछिल्ला खेलहरूमा इङ्ग्ल्यान्डले सिर्जनात्मकताको कमी देखाएको भन्दै आलोचना समेत भइरहेको छ।

विश्वकप उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको इङ्ग्ल्यान्डले सन् १९६६ पछि कुनै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। यस पटक टोली ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने आशामा छ।

डीआर कङ्गोका लागि भने यो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप बनेको छ। सन् १९७४ मा ‘जाइरे’ नामबाट पहिलो पटक विश्वकप खेलेको यो टोली त्यतिबेला समूह चरणका तीनै खेल हारेर बाहिरिएको थियो। त्यसबेला उसले कुनै गोल गर्न नसकी १४ गोल व्यहोरेको थियो।

५२ वर्षपछि विश्वकपमा फर्किएको डीआर कङ्गोले अन्तरमहादेशीय प्लेअफमा जमैकालाई पराजित गर्दै मुख्य प्रतियोगितामा स्थान बनाएको हो। स्वदेशमा फैलिएको इबोला संकटका कारण तयारी प्रभावित भए तापनि टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो विश्वकप जित हासिल गर्‍यो। उज्बेकिस्तानविरुद्ध योआने विस्साले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक सफलता दिलाएका थिए। यस खेलको विजेताले अन्तिम १६ मा इक्वेडर वा मेक्सिकोमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

इङ्ग्ल्यान्ड र डीआर कङ्गोबीच अन्तर्राष्ट्रिय फुटबलमा यो पहिलो भेट हो। घानाविरुद्ध खेलेपछि इङ्ग्ल्यान्डले एउटै विश्वकपमा दुई अफ्रिकी टोलीसँग खेल्न लागेको यो दोस्रो अवसर हो। यसअघि सन् १९९० को विश्वकपमा इजिप्टलाई १–० ले हराएको इङ्ग्ल्यान्डले क्वाटरफाइनलमा क्यामरुनलाई ३–२ ले पराजित गरेको थियो।

आजको खेलमा इङ्ग्ल्यान्डका प्रमुख मिडफिल्डर डेक्लान राइस पुनः सुरुआती टोलीमा फर्किने सम्भावना छ। तर, राइट ब्याक पोजिसनमा भने टोलीको समस्या कायम छ। रीस जेम्सले ह्यामस्ट्रिङ चोटका कारण पानामाविरुद्धको खेल गुमाएका थिए भने उनको स्थानमा खेलेका जारेल क्वान्साह पनि एङ्कल चोट बोक्दै मैदानबाट बाहिरिएका थिए। त्यसैले आज डिजेड स्पेन्सले सुरुआती अवसर पाउने अपेक्षा गरिएको छ।

अर्कोतर्फ, डीआर कङ्गोको टोलीमा भने कुनै नयाँ चोटको समस्या छैन।

प्रतिक्रिया दिनुहोस्