काठमाडौं । तरुण दलले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको प्रतिवेदन असार २५ सम्मभित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ । दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीको क्रियाशील सदस्यता अद्यावधिकमा सहयोग गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको र प्रतिनिधिहरूले असार २५ गतेभित्र प्रतिवेदन बुझाउनु पर्ने बताएका हुन् ।

कोइरालाले विज्ञप्तिमा असार २५ गते राति १२ बजेभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा विस्तृत प्रतिवेदन बुझाइसक्न खटाइएका प्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् । तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा सम्बन्धित केन्द्रीय प्रतिनिधि तथा जिल्ला कार्यसमितिको अभियान अपूर्ण रहेको मानिने कोइरालाले विज्ञप्तिमा लेखेका छन् ।
परिपत्रमा अभियानलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरी तोकिएको समयभित्र प्रतिवेदन इमेल मार्फत पठाइदिनुहुन अनुरोध गरिएको छ ।
परिपत्र अनुसार, खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित जिल्ला कार्यसमितिहरूसँग आवश्यक समन्वय र सहकार्य गरी वडा तथा पालिका तहसम्मै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने दलले बताएका छन् ।















