Logo
Logo

ब्याजदरमा लफडा, बैंकहरू नै छिर्के दाउमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बैंकले प्रवाह गरेको कर्जाको ब्याजदर अधिक भएको आलोचनाले सबैलाई पिरोलेपछि पुस महिनाको पहिलो साता सबैले नाक जोगाउने नाममा बैंकहरूबीच अधिकतम ब्याजदरको सीमा तोकियो । यसअघि २८ वटा वाणिज्य बैंकहरूमध्ये १७ वटा बैंकले एकैपटक मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर बढाएका थिए । जसमध्ये निकै ठूला मानिएका बैंकहरूले समेत मुद्दती निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशत पुर्याएका थिए । त्यसको प्रत्यक्ष असर र चाप कर्जाको ब्याजदरमा पर्यो । त्यसपछि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स संघबीच एक महिना अघि भएको सहमतिपछि विशेषगरी संस्थागत निक्षेपको ब्याजमा सीमा तोकिएको हो ।

नेपाल टेलिकमको निक्षेप जोगाउन एनसीसी र सनराइज बैंकले संस्थागत निक्षेपकर्ताको प्रकाशित ब्याजदर ८ दशमलब ६५ प्रतिशत पुर्याएका थिए । जसमा एक प्रतिशत विन्दुसम्म बढेर ब्याज दिन पाइने व्यवस्था रहेको छ । उता, सोही बेलामा सेञ्चुरी बैंकले भने संस्थागत निक्षेपकर्ताको ब्याज ८ दशमलब ९९ प्रतिशत पुर्यायो । यो भनेको संस्थागत निक्षेपकर्तालाई ९ दशमलब ९९ प्रतिशतसम्म ब्याज दिन पाइने अवस्था हो । उक्त तीनवटै बैंकले केही समय अघिको भद्र सहमति तोडेको उजुरी बैंकर्स संघमा परेपछि बैंक तथा वित्तीय संस्थामा ज्वारभाटा गएको हो ।


व्यक्तिगत निक्षेपको तुलनामा बढीमा एक प्रतिशतले मात्र संस्थागत निक्षेपको ब्याज बढाउन पाइने भद्र सहमति गरिएको थियो । तर, एकले अर्कोलाई छिर्के दाउ लगाउन माहिर बैंकरहरूमध्ये पनि केही वाणिज्य बैंकका हर्ताकर्ताले देखिने एउटा र गरिने अर्को सहमतिपछि गत साता पुनः उक्त सहमति पनि टुटेको छ । केही बैंकले सार्वजनिक हुनेगरी संस्थागत निक्षेपमा दिइएको ब्याजदरलाई लिएर बैंकर्स संघमा उजुरी गरेपछि ब्याजदरमा फेरी लफडा परेको सहजै अनुमान गर्न सकिन्छ । अधिकांश बैंकले आँखा लगाउने गरेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निक्षेप रकममा एकाएक बैंकहरूले विभिन्न बहानामा उक्त सहमति तोडेपछि ब्याजदरको लफडा र बैंकहरूको छिर्के दाउको रहस्य छताछुल्ल भएको हो । हालसम्म नेपाल टेलिकमको निक्षेप तान्न एकाध बैंकको चर्चा भएपनि त्यो भन्दा अघि बैंकर्स संघका हालिमुहाली गरेका प्रभावशाली बैंकरले नै निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेपमा प्रदान गरेको अधिक ब्याजको भने हालसम्म कसैले पनि मुख खोलेका छैनन् ।
गतसाता आफ्नो बैंकमा रहेको नेपाल टेलिकमको निक्षेप जोगाउन एनसीसी र सनराइज बैंकले संस्थागत निक्षेपकर्ताको प्रकाशित ब्याजदर ८ दशमलब ६५ प्रतिशत पुर्याएका थिए । जसमा एक प्रतिशत विन्दुसम्म बढेर ब्याज दिन पाइने व्यवस्था रहेको छ । उता, सोही बेलामा सेञ्चुरी बैंकले भने संस्थागत निक्षेपकर्ताको ब्याज ८ दशमलब ९९ प्रतिशत पुर्यायो । यो भनेको संस्थागत निक्षेपकर्तालाई ९ दशमलब ९९ प्रतिशतसम्म ब्याज दिन पाइने अवस्था हो । उक्त तीनवटै बैंकले केही समय अघिको भद्र सहमति तोडेको उजुरी बैंकर्स संघमा परेपछि बैंक तथा वित्तीय संस्थामा ज्वारभाटा गएको हो ।
भद्र सहमति तोडेको आरोप लागका सनराईज, एनसीसी र सेञ्चुरी बैंकले भने आफ्नो निक्षेप अरुले नखोसुन् भन्नाको लागि नै ब्याजदर बढाएको बताएका छन् । एनसीसी बैंकका अनुसार उक्त बैंकमा नेपाल टेलिकमको एक अर्ब रूपैयाँ मुद्दती निक्षेप छ । जसको नवीकरण गर्नुपर्ने भएकाले थोरै ब्याज बढाएर पैसा रोकेको तर्क उक्त बैंकले दिएको छ । त्यसैगरी सनराइज बैंकले पनि आफूसँग रहेको टेलिकमको ७५ करोड रूपैयाँ निक्षेप जोगाउन ब्याजदर बढाउनुको विकल्प नभएको बताएको छ । तर, ती दुबै बैंकले आफ्नो बैंकमा यसअघि रहेको मुद्दती निक्षेपको नवीकरणका लागि मात्र ब्याजदर बढाइको सूचना नै प्रकाशित गरेका थिए । उता सेञ्चुरी बैंकले भने मुद्दती निक्षेपको नवीकरण बारे कुनै पनि सूचना सार्वजनिक गरेको छैन । उसले सबै संस्थागत निक्षेपकर्ताका लागि नै ब्याज बढाएको देखिन्छ । उक्त बैंकले छिर्के दाउ लगाउँदै मासिक ब्याज भुक्तानी हुने गरी ५ करोडमाथिको निक्षेपमा ८ दशमलब ९९ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको छ । त्रैमासिक हिसाबले सो ब्याजदर ९ दशमलब ९९ प्रतिशत हुन आउँछ ।
आफ्नो बैंकमा रहेको मुद्दती निक्षेप जोगाउन ब्याजदर बढाएको तर्क गर्ने बैंकहरूले माघ पहिलो साता निक्षेप तथा कर्जा सुरक्षण कोषको करोडौं रूपैयाँको मुद्दती निक्षेपमा सहमती भन्दा विपरित बढी ब्याजदर दिएर रकम कुम्ल्याएपछि आफूहरू ब्याजदर बढाउन बाध्य भएको बताएका छन् । कोषले आव्हान गरेको माघ पहिलो साताको निक्षेपमा झण्डै एक दर्जन बैंकले ९ दशमलब ५० प्रतिशत ब्याजदरको घोषणा गरेका थिए । त्यसरी ब्याजदर घोषणा गर्ने अधिकांश बैंकर्स संघका पदाधिकारी रहेका प्रमुख कार्यकारी अधिकृतहरूको बैंक रहेको पनि स्रोतले बताएको छ ।
यता बैंकरहरूले अर्को रोइलो पनि शुरु गरेका छन् । विशेषगरी सहमति विपरित ब्याजदर बढाउने होडमा लागेका बैंकका सीईओहरूले नै निक्षेप जोगाउने वा कर्पोरेट निक्षेप तान्ने कार्यको लागि विभिन्न वहानामा बैंकरहरूले ‘माल प्राक्टिस’ गर्न थालेको बताएका छन् । यसबाट बैंकरहरूबीच चुल्ठे मुन्द्रे जस्तै आफ्नो फाइदाको लागि जे पनि गर्ने भावना जागृत हुँदै गएको अर्थ लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्