काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्लाउने प्रयास भइरहेको बताएका छन् । उनले एमाले अरू कसैको लहरोमा मात्रै अघि बढ्ने पार्टी नभएको दाबी समेत गरे ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरूले धक्का आएको भए पनि सिद्धिएकै अवस्था भने नभएको ओलीको भनाइ छ ।
‘उनले भने, हामीले धक्का खाएका छौँ । धक्का खाएको हो, सिद्धिएको होइन । हामी नवीकृत भएर अघि बढ्नेछौँ भन्ने कुराको संकेत यो हो । हामीलाई एक्लाउने प्रयासहरू अझै बढी निरन्तर अघि बढिरहेकै छन् । एक्लाउने प्रयास अघि बढिरहेका छन् ।’
आँधी, हुरी, तुफान, बाढी लगायत धेरैसँग सामना गर्दै आएको पार्टी एमाले भएको बताउँदै उनले कसैलाई नसमाति अघि बढ्नै नसक्ने भने नहुने जिकिर गरे ।
उनले भने, ‘हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौँ । दह्रो, मजबुत र विशाल वृक्ष हो । अरूको बलमा उभिएका पनि होइन । आफैँ हुर्किँदै, आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ । तर, अर्को कसैलाई नसमातिकन उठ्नै नसक्नेखालको त्यान्द्रो होइन, एमाले । एमाले आफू एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो ।’
उनले आफ्नै बलमा फेरि पार्टी नवीकृत हुँदै अघि बढ्ने बताए । ‘त्यसकारण कतिबेला कहाँनिर छ, त्यो परिस्थितिले गर्ला । तर, हामी आफैँ यहाँसम्म आएका हौँ । आफैँ आफ्नै खुट्टामा उभिएका हौँ,’ ओलीले भने, ‘फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अघि बढ्छौँ । चुनौतीहरूको सामना गर्न र तीनलाई पराजित गर्दै अघि बढ्छौँ ।’














