काठमाडौं । नेकपा एमालेले पार्टीको भूमिकालाई संसद्मा प्रभावकारी बनाउन आज सांसदहरूसँग अन्तरक्रिया गर्दै छ । पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने लागेका हुन् ।

पार्टीको संसदीय विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालका अनुसार संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । उनले संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिने छन् ।
यसैगरी, पार्टी महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने छन् । हरेक सांसदले पार्टी नीति अनुरूप संसद्मा भूमिका निर्वाह गर्नुपर्ने भएकाले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्ने जनाइएको छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरूलाई पनि जानकारी गराइएको छ । सम्बन्धित विभागहरूले विषय विज्ञता भएका व्यक्तिहरूको नाम सिफारिस गरेर सांसदहरूलाई संसदीय विषयवस्तुहरूमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ । कार्यक्रममा दुवै सदनका सांसदहरू सहभागी हुने छन् ।














