काठमाडौँ, कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतसँग गृहमन्त्रीको भेट गराउन आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेकी छन्।

उनीहरूले गृहमन्त्रीलाई भेट्न चाहेको विषयमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने भन्दै यस्तो आग्रह गरेकी हुन्।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ को प्रतिवेदन, २०८३ माथि भएको छलफलका क्रममा सो विषयमा कुरा उठेको थियो।
लामो समयदेखि सडक आन्दोलनमा रहेका यादव र राजपुतले गृहमन्त्री सुधन गुरुङलाई भेट्न खोजिरहेका छन्। तर, उनलाई भेट्न नपाउँदा उनीहरूले सडकमा चर्को आवाज उठाइरहेका छन्।














