Logo
Logo

दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन : प्रहरीद्धारा लाठीचार्ज, संसद्‌तर्फ बढ्दै प्रदर्शनकारी


819
Shares

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित कक्रोच जनता पार्टीले आयोजना गरेको ‘संसद मार्च’ का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ ।

The current image has no alternative text. The file name is: india-1.jpg

प्रदर्शनकारीका अनुसार लाठीचार्जका कारण धेरै व्यक्ति घाइते भएका छन् र केहीको टाउकोसमेत फुटेको छ । तर दिल्ली प्रहरीले भने बल प्रयोग नगरिएको दाबी गरेको छ । 

संसद्तर्फ अघि बढ्न खोजेका ठूलो सङ्ख्याका प्रदर्शनकारीलाई प्रहरीले जन्तर–मन्तर क्षेत्रमै रोकेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी राजीव चौक र मण्डी हाउस मेट्रो स्टेशनभित्र प्रवेश गरेका थिए भने कतिपयले सुरक्षा बार तोडेर संसद् प्रहरी कार्यालयसम्म पुग्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा दिल्ली प्रहरी र द्रुत कार्यबलका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएका छन् । प्रहरीले संसद् मार्चका लागि अनुमति नदिइएको भन्दै कानूनअनुसार सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

यता, कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफूहरूलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले संसद् मार्च पूर्ण रूपमा शान्तिपूर्ण हुने र आफ्ना माग राख्न लोकतान्त्रिक अधिकार प्रयोग गरिरहेको बताएका छन् ।

यसैबीच, २३ दिनदेखि आमरण अनशनमा रहेका सोनम वाङचुकले अनशन अन्त्य गर्न सरकारसमक्ष तीनवटा सर्त अघि सारेका छन् । उनले शिक्षा प्रणाली र प्रश्नपत्र चुहावट प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने, कक्रोच जनता पार्टीको प्रतिनिधिमण्डललाई संसद् जान अनुमति दिनुपर्ने तथा सांसदहरूले उक्त विषय संसद्मा उठाउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।

उनले स्वास्थ्य अवस्थाका कारण संसद् जान सम्भव नभए सांसदहरू आफैँ सफदरजङ अस्पताल पुगेर सोही प्रतिबद्धता जनाउनुपर्ने तेस्रो सर्त पनि राखेका छन् ।

यसअघि कक्रोच जनता पार्टीले सामाजिक सञ्जालमार्फत वर्षा र कडा सुरक्षा व्यवस्थाका बाबजुद आफूहरूको संसद् मार्च शान्तिपूर्ण रूपमा सम्पन्न हुने जनाएको थियो । दिल्ली प्रहरीले भने मार्चका लागि अनुमति नदिइएको दोहोर्‍याउँदै कानूनविपरीत गतिविधि हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्