Logo
Logo

सबै मेस्सीकै भन्थे, हाता लाग्यो शून्य ! (भिडियोसहित)


315
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलअघिसम्म धेरै फुटबलप्रेमिहरू एउटा सपना बुनिरहेका थिए– ‘मेस्सीको बिदाइ कम्तीमा सुखद् होस् ! उनी सफलताको डिलैमा पुगिसकेका थिए, तर खेलको नियतिले अर्कै खेल खेलिदियो । रुँदै मैदान छाड्नुप¥यो ।

फाइनलअघि मेस्सी र अर्जेन्टिनाका समर्थकहरूको धाकै अर्कै थियो– यसपालि त ट्रफी, गोल्डेन बल, गोल्डेन बुट… सब मेस्सीकै हो । हातैभरि ट्रफी नै ट्रफी । तर, पासा यस्तो उल्टियो कि न ट्रफी पर्यो, न गोल्डेन बल, न त गोल्डेन बुट नै ! पर्यो त केवल नाम मात्रको ‘सिल्भर बल’ ।

चोट यत्तिमै रोकिएन, विश्वकपको इतिहासमै सर्वाधिक गोलकर्ता बन्ने मेस्सीको सपना पनि तुहिइयो । फ्रान्स र इङ्गल्यान्ड तेस्रो स्थानका लागि भिड्नुअघिसम्म मेस्सी २१ गोलका साथ शीर्षमै थिए । तर इङ्गल्यान्डविरुद्धको खेलमा एमबाप्पेले दुई गोल गर्दै मेस्सीको कीर्तिमान तोडे र २२ गोल पु¥याएर इतिहास आफ्नो नाममा गराए । त्यसपछि पनि मेस्सी र अर्जेन्टिनाका समर्थकहरूको आशा मरेको थिएन । ’फाइनलमा मेस्सीले गोल हान्छन् अनि एमबाप्पेको कीर्तिमान फेरि खोस्छन्’ भन्ने आस बाँकी नै थियो । तर, त्यो त मनभित्रै लड्डु फुटाएजस्तो मात्रै भइदियो !

फाइनलमा स्पेनसँग हार बेहोरेपछि मेस्सीको अर्को विश्वकप उचाल्ने सपना अधुरै रह्यो । सन् २०३० को विश्वकप आउँदासम्म मेस्सी ४३ वर्षका भइसक्ने भएकाले, सायद यो नै उनको अन्तिम विश्वकप हुने निश्चितप्रायः छ ।

यता, स्पेनले भने १६ वर्षपछि फेरि उपाधि कब्जा ग¥यो । न्यु जर्सीको मेटलाइफ स्टेडियममा भएको भिडन्तमा निर्धारित ९० मिनेटसम्म दुवै तर्फबाट गोलको खाता नै खोल्न सकेन, र खेल अतिरिक्त समयमा धकेलियो । तर, १०६औँ मिनेटमा सुपर सब बनेर छिरेका फेरान टोरेसले गोल गर्दै स्पेनलाई विश्वविजेता बनाए । यो ऐतिहासिक जितसँगै स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकपको ट्रफी कब्जा गरेको छ ।

खेलको सुरुदेखि नै स्पेनले बल आफ्नो पकडमा राख्दै अर्जेन्टिनामाथि लगातार धावा बोलिरह्यो । पाँचौँ मिनेटमै युवा स्टार लामिन यमालको कडा सटलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे । पहिलो र दोस्रो हाफभरि स्पेनले आक्रमणको ओइरो नै चलाए पनि मार्टिनेज तगारो बनिरहे । उनले ११ वटा सानदार सेभ गर्दै अर्जेन्टिनाको संकट टारिरहे । उता मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई स्पेनको मजबुत पर्खाल पन्छाउन धौ–धौ प¥यो । स्पेनको कडा दबाबका कारण अर्जेन्टिनाले खेलभरि स्पेनको पोस्टमा एउटै ‘सट अन टार्गेट’ सम्म हान्न सकेन ।

दोस्रो हाफको अन्त्यतिर त मैदान झनै तनावपूर्ण बन्यो । ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले स्पेनका पाउ कुबार्सीलाई ट्याकल गरेपछि दोहोरो पहेँलोपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए । एन्जो बाहिरिएपछि १० खेलाडीमा समेटिएको अर्जेन्टिना झनै च्यापियो । तर पनि रक्षात्मक खेल्दै टोलीले खेललाई अतिरिक्त समयसम्म तान्यो ।

अतिरिक्त समयमा त १० खेलाडीको अर्जेन्टिनाविरुद्ध स्पेन झनै आक्रामक बन्यो । १०६औँ मिनेटमा स्पेनले गजबको मुभ रच्यो । पेड्रो पोरोको क्रसमा निको विलियम्सले हेडमार्फत बल मिलाइदिए, अनि सुटुक्क छिरेका फेरान टोरेसले ’फिनिसिङ टच’ दिँदै बल जालीमा चुमाए ! अन्तिमतिर अर्जेन्टिनाले बराबरीका लागि छटपटी त देखायो, तर स्पेनको अगाडि केही सिप लागेन र १–० ले बाजी स्पेनकै पोल्टामा पर्यो । नकआउट चरणमा इजिप्ट र इङ्गल्यान्डविरुद्ध पछि परेको स्थिति उल्टाउँदै गजबको पुनरागमन गरेको अर्जेन्टिना फाइनलमा भने नराम्ररी चुक्यो । युरो २०२४ पछि सोझै विश्वकप पनि कब्जा गर्दै प्रशिक्षक लुइस डे ला फुएन्तेको स्पेनले विश्व फुटबलमा आफ्नो नयाँ राज सुरु गरेको छ ।

कसरी चुक्यो अर्जेन्टिना ?–
जति बहुप्रतीक्षित थियो, यो फाइनल त्यति रोमाञ्चक भने बन्न सकेन । निरन्तरको फल र कडा भिडन्तका कारण खेलले लय पक्रिनै पाएन, बरु अलि पट्यारलाग्दो बन्यो !

मैदानबाहिरको रौनक भने बेग्लै थियो । खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हेलिकप्टरको लस्करसहित न्युजर्सी उत्रिएका थिए । त्यसमाथि विश्वकप इतिहासकै पहिलो हाफ–टाइम शोमा साकिरा, म्याडोना र जस्टिन बिबरले साङ्गीतिक धमाका मच्चाए । यही कारण १५ मिनेटको हाफ–टाइम लम्बिएर २७ मिनेट पुग्यो !

मैदानभित्र अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज ‘डिबु’ चट्टान बनेर उभिए । अतिरिक्त समयमा पनि उनले निको विलियम्सको हेडर सानदार ढङ्गले रोकिदिए । हुन त त्यसपछि विलियम्सले बल जाली चुमाएकै हुन्, तर बेन्चबाट छिरेका मिकेल मेरिनोले निकोलास ओटामेन्डीमाथि फल हानेकाले त्यो गोल रद्द भयो । स्पेनको जित अझै फराकिलो हुन सक्थ्यो, तर उनीहरूले धेरै सजिला अवसरहरू खेर फाले । मार्टिनेजले एकपछि अर्को बचाउ गर्दै टोलीको साख जोगाए, यदि अर्जेन्टिनाको कोही हिरो थियो भने ती डिबु नै थिए ।

अर्कोतिर, स्पेनले लियोनेल मेस्सीलाई पुरै ’लक’ गरिदियो । फाइनलअघि प्रतियोगिताभरि आठ गोल गरेका अर्जेन्टिनी कप्तानले यो खेलमा एउटा पनि गोल दाग्न सकेनन् । विपक्षीलाई छक्याउन माहिर मेस्सीको पासिङसमेत सामान्य स्तरकै देखियो । स्पेनिस पर्खालअगाडि उनले एक पटक मात्र प्रहार गर्न पाए, त्यो पनि पोस्टको दिशामा थिएन ।

यदि यो महान् खेलाडीको विश्वकप करियरको अन्तिम खेल थियो भने, यसको अन्त्य निकै खल्लो भयो । साविक विजेताले उपाधि गुमायो । मेस्सी टोलीलाई जिताउन पूर्णतः असफल रह्यो । अर्जेन्टिनाको रणनीतिले पनि मेस्सीलाई साथ दिएन, टोलीले आक्रामक खेल्नुको सट्टा स्पेनको खेल बिथोल्ने दाउ मात्र बुन्यो ।

यति हुँदाहुँदै पनि स्पेनको निरन्तर पेलान सहेर खेललाई अतिरिक्त समयसम्म तान्नु नै अर्जेन्टिनाको ठूलो उपलब्धि थियो । विशेषगरी ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले पाउ कुबार्सीमाथि जानाजान फल गरेर दोहोरो पहेँलो कार्ड खाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा झरेर पनि निर्धारित समयसम्म बराबरी रोक्नु कम्ती गाह्रो थिएन ।

खेलको अन्तिम क्षणमा अर्जेन्टिनासँग जित खोस्ने एउटा मौका पनि आएको थियो । जुलियानो सिमेओनेको नेतृत्वमा दुईवटा खतरा आक्रमण बुनेका थिए । तर, भाग्यले त्यस दिन सोझै स्पेनको साथ दिएको थियो । एउटा प्रयास कर्नरमा परिणत भयो भने अर्को प्रहार बारमाथिबाट बाहिरियो ।

पूरै प्रतियोगिताभर स्पेनको मिडफिल्डले खेल नियन्त्रणमा राख्यो । उनीहरूले अर्जेन्टिनालाई बल नियन्त्रणमा राख्ने मौकै दिएनन् । स्पेन आफ्नो टिकी–टाका र तीव्र पासिङका लागि त छँदै थियो, यसपालि विपक्षीको बल खोस्ने र दबाब सिर्जना गर्ने कला झनै कडा देखियो ।

१० खेलाडीमा समेटिएको अर्जेन्टिनाका लागि स्पेनजस्तो बलियो टोलीलाई रोक्नु असम्भवप्रायः थियो । जसले पूरै प्रतियोगिताभर केवल एक गोल खाएको थियो । अतिरिक्त समयको दोस्रो हाफको छैटौँ मिनेटमा स्पेनले आफ्नो बढी खेलाडी हुनुको फाइदा उठायो । सही समयमा सही ठाउँमा उभिएका फेरान टोरेसले सुटुक्क बल जालीमा चुमाए । यसबाहेक पहिलो हाफको अन्त्यतिर लिसान्ड्रो मार्टिनेज घाइते भएर मैदान छाड्न बाध्य भएपछि स्कालोनीले अनुभवी डिफेन्डर ओटामेन्डीलाई उतारेका थिए, जसले यसअघि समूह चरणमा मात्र एक खेल खेलेका थिए ।

भन्नैपर्छ, स्पेनसँग एमबाप्पे, मेस्सी वा रोनाल्डोजस्ता एक्लै खेल पल्टाउने ठूला ’सुपरस्टार’ थिएनन् । तर उनीहरूसँग एउटा यस्तो टोली थियो, जुन एकढिक्का भएर खेल्यो । मिकेल ओयारजाबालका पाँच गोल, रोड्री र पेड्रीको जादुमयी प्लेमेकिङ, मार्क कुकुरेलाको जोस र यमालको प्रभावकारी भूमिका यी सब हेर्दा स्पेनको कुनै एक खेलाडीलाई मात्र जस दिन मिल्दैन । यस सफलताको सबैभन्दा ठूलो जस प्रशिक्षक लुइस डे ला फुएन्तेलाई जान्छ। धेरै हल्लाखल्ला गर्न मन नपराउने यी शान्त प्रशिक्षकले स्पेनिस टोलीलाई भित्रभित्रै निखारे, एक ढिस्को बनाए र फेरि विश्व फुटबलको सर्वोच्च शिखरमा पु¥याएरै छाडे ।

व्यक्तिगत अवार्डहरूमा पनि स्पेनकै वर्चस्व–
विश्वकपको ट्रफीसँगै यसपालिको व्यक्तिगत अवार्डहरूमा पनि स्पेनकै एकलौटी राज चल्यो । पूरै प्रतियोगिताभरि टोलीको मेरुदण्ड बनेका स्पेनका कप्तान रोड्री सर्वोत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ हात पार्न सफल भए । उता अर्जेन्टिनाका कप्तान मेस्सीले ‘सिल्भर बल’मै चित्त बुझाउनु पर्यो भने फ्रान्सका किलियन एमबाप्पेले ‘गोल्डेन बुट’ आफ्नो पोल्टामा पारे । सन् २०२२ पछि लगातार दोस्रो पटक यो अवार्ड जितेका एमबाप्पे कुल २२ गोलका साथ अब विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्तासमेत बनेका छन् ।

त्यस्तै, स्पेनका उनाई सिमोन उत्कृष्ट गोलरक्षक चुनिँदै ‘गोल्डेन ग्लोभ’ चुम्न सफल भए । पूरै प्रतियोगिताभरि जम्मा १ गोल मात्र खाएका सिमोनको जाली चुम्नु विपक्षी खेलाडीहरूका लागि फलामको च्युरा चपाउनु सरह बन्यो । यसका साथै स्पेनकै १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले ‘सर्वोत्कृष्ट युवा खेलाडी’को अवार्ड हात पार्दै आफ्नो दबदबा बढाए ।

मेस्सी–यामल अंकमालको चर्चा
स्पेनले विश्वकप उपाधि जितेपछि १९ वर्षीय लामिन यामलले आँसुमा डुबेका मेस्सीलाई अँगालो हाले । स्टेडियममा अर्जेन्टिनाका समर्थकहरूले मेसीको नाम गुञ्जाइरहँदा मेस्सी लामो समयसम्म भावुक हुँदै उनीहरूलाई हेरिरहेका थिए । पछि आफ्ना समर्थकहरूतर्फ हेर्दै गर्दा मेसीको आँखाबाट आँसु खसेका थिए र उनी निकै बेर रोइरहे । भुइँमा बसेर समर्थकतर्फ हेर्दै गर्दा लामिन मेसीलाई अँगालो हाल्न पुगेका थिए ।

सम्भवतः विश्वकपको सबैभन्दा ठूलो मञ्चमा मेस्सीको अन्तिम उपस्थितिपछि भावुक बनेका उनलाई यामलले सान्त्वना दिएका थिए । यो दृश्य विश्व फुटबलमा पुस्तान्तरणको एउटा महान प्रतीक बनेको छ । धेरै फुटबलप्रेमीहरूले यस क्षणलाई मेस्सी युगको अन्त्य र लामिन युगको सुरूवात भएको रूपमा विश्लेषण गरिरहेका छन् । यसअघि अन्तिम १६ को खेलमा पनि यमलले अर्का लेजेण्ड क्रिस्टियानो रोनाल्डोलाई यसैगरी अंकमाल गरेका थिए ।

जाँदाजाँदै, एउटा संयोगको कुरा पनि गरिहालौँ । खेल सकिएपछि मैदानमै भक्कानिएका मेस्सीलाई यमालले अँगालो हाल्दा संसारभरका फुटबल प्रेमीहरू भावुक बने । हुन पनि, सन् २००७ मा २० वर्षका मेस्सीले पाँच महिनाका फुच्चे यमाललाई बाथटबमा नुहाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा खुबै छाएको थियो । एउटा च्यारिटी क्यालेन्डरका लागि खिचिएको त्यो पुरानो तस्बिर फाइनलअघि फेरि जताततै भाइरल बन्यो । त्यतिबेलाका ती ओछ्यानका शिशु यमाल आज विश्वकप उचाल्ने हिरो बनिसके, उता मेस्सीको विश्वकप यात्रा भने बिदाइको सङ्घारमा पुग्यो ।

उसो त मेस्सी आफैँ पनि यमालको खेलका फ्यान हुन् । फाइनलअघिकै पत्रकार सम्मेलनमा उनले यमालको मुक्तकण्ठले तारिफ गरेका थिए । आफूले वर्षौँ रगत–पसिना बगाएको बार्सिलोनालाई अब यमालले अझै माथि पु¥याउनेमा मेस्सी ढुक्क थिए ।

भन्नैपर्छ, यो विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो पुस्तान्तरणको साक्षी बन्यो । सर्वकालीन महान् खेलाडी मेस्सीको विश्वकप यात्रा एउटा भावुक हारसँगै टुङ्गियो भने, लामिन यमाल र पाउ कुबार्सीजस्ता चम्किला नवयुवाहरूको उदयले स्पेनले विश्व फुटबलमा आफ्नो नयाँ साम्राज्य खडा ग¥यो । तर, यो साम्राज्य कहिलेसम्म टिक्ला भन्ने प्रश्न चाहिँ जिवितै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्