काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । जलेर मृत्यु हुनेमा काठमाडौंको नरदेवीका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बा५च ३०३८ नम्बरको सेतो कार मंगलबार (साउन ५) कीर्तिपुरको चाँदनीचोकस्थित खाली जग्गामा पार्किङ गरिएको अवस्थामा जलेर नष्ट भएको थियो । उक्त कार पनि श्रेष्ठकै नाममा रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए ।
कारको चालक सिटमा जलेर मृत्यु भएको अवस्थामा शव भेटिएको थियो । कार पार्किङका निम्ति मंगलबार बिहान १० बजेर ४६ मिनेटमा त्यहाँ पुगेको खुलेको छ ।
कार त्यहाँ पुगेपछि चालक बाहिर नओर्ली भित्रबाट नै आगो लागेको देखिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














