काठमाडौं । नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ। २०८२ चैत १५ गतेदेखि सुरू भएको उक्त तालिमको समापन सोमबार प्रधान सेनापति महारथी अशोक राज सिग्देलले विशेष कार्यक्रमबीच गरेका हुन् ।

महासेनानी दर्जाका ३५ जना शिक्षार्थी सहभागी रहेको तालिमको समापन समारोहमा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। तालिममा महासेनानी प्रशान्त बज्राचार्य समग्रमा प्रथम हुँदै ‘बेस्ट स्टुडेन्ट अफिसर’ घोषित भएका छन् । त्यस्तै, उत्कृष्ट अनुसन्धान कार्यका लागि प्रदान गरिने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन् ।
समापन समारोहमा पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द, बहालवाला अधिकृतहरू तथा शिक्षार्थी अधिकृतका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाली सेनाका अनुसार यो सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको व्यावसायिक तालिम हो। तालिममार्फत स्टेटक्राफ्ट, जियोपोलिटिक्स तथा इकोनोमिक डाइनामिक्स, पोलिटिकल फिलोसफी, डिप्लोमेसी, वर्ल्ड अर्डर, मिलिटरी तथा सेक्युरिटी स्ट्राटेजी र लिडरसिप तथा म्यानेजमेन्ट सम्बन्धी विषयमा ज्ञान र नेतृत्व क्षमता विकास गराइन्छ ।
नेपाली सेनाले वि.सं. २०७१ सालदेखि सञ्चालन गर्दै आएको यस तालिमबाट हालसम्म ४१० जना अधिकृत दीक्षित भइसकेका छन् ।














