काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद अरबिन्द साहको विरोध गरेकै आरोपमा एक युवक पक्राउ परेका छन् । सांसद साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार सांसद साहले बुधवार उजुरी दिएपछि अन्सारीलाई सोही दिन दिउँसो नियन्त्रणमा लिइएको हो । उनलाई आज अदालत पेस गरिने छ । अन्सारीलाई विद्युतीय कारोबार ऐनले घृणा, द्वेष र अफवाह फैलाउने गतिविधिलाई गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
अन्सारीले फेसबुकमा सांसद साहले चुनावी बाचाअनुसार काम नगरेको आरोप लगाउँदै आक्रामक स्टाटस राखेका थिए । सोही पोस्टका आधारमा साहले उजुरी दिएका हुन् ।
अन्सारीले एक पोस्टमा लेखेका छन्, ‘मेरो ओपन च्यालेन्ज छ । कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटिन्छ, त्यहीँ दल्ने हो । आफ्नो मेनिफेस्टोअनुसार १ प्रतिशत पनि काम नगरेको जनताले खुलासा गरिरहेका छन् ।’
यसअघि पनि उनले अर्को पोस्टमार्फत सांसद साहलाई प्रश्न गर्दै लेखेका थिए, ‘बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहज्यू, तपाईँ क्षेत्र अनुगमन गर्न आउनुभएको रहेछ भन्ने सुनेको छु । तपाईँले चुनावी घोषणापत्रअनुसार के काम गर्नुभयो ? यदि गर्नुभएको छैन भने कालो मसी दलेर फेरि काठमाडौं पठाउनेछौँ । भरतचोकमा भेट्नुस्, म कालो मसी दल्नेछु । तपाईँलाई मेरो ओपन च्यालेन्ज छ ।’ अन्सारीले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे पनि भौतिक रूपमा कुनै विरोध कार्यक्रम गरेका थिएनन् ।














