काठमाडौं । पछिल्लो समय विभिन्न व्यवसायीक सङ्घसंस्था र उद्यमीहरूसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग छलफल गर्दै छन् ।

भेटघाटमा चिया उद्योगीहरूले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए ।
त्यसअघि उनले उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासङ्घ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग सङ्घ लगायतका प्रतिनिधिहरूसँग पनि भेटघाट गरेका थिए ।
प्रधानमन्त्री बालेनले आज भने अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि-स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका हुन् ।
नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा बजार अवस्थाले नेपाली चियाको व्यापार प्रभावित हुने गरेको छ ।
भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध भएको थियो । जसका कारण इलाम र झापाका दर्जनौँ चिया उद्योग बन्द हुन पुगेका थिए । उद्योग बन्द हुँदा नेपालको चिया उद्योगमा निर्भर कामदारहरूसमेत प्रभावित भएका थिए ।














