Logo
Logo

डा.गोविन्द केसी अनसन बस्दै


0
Shares

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा.गोविन्द केसीले बिहीबार दिउसो ३ बजेदेखि धनगढी स्थित कृष्ण मन्दिरमा २४ औँ सत्याग्रह सुरु गर्ने भएका छन् ।

The current image has no alternative text. The file name is: Dr.-Govinda-KC.jpg

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनका विरुद्ध तथा सुशासन कायम गर्न धनगढीस्थित कृष्ण मन्दिरमा २४ औँ सत्याग्रह सुरु गर्न लागेको डा।केसीले बताए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ साल भित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामुलक बनाउने भनिए मार्ग चित्र तय गरेपनि वर्तमान सरकारले यसको कार्यान्वयनको लागी तत्परता नदेखाएको भन्दै केसी सत्याग्रह बस्न लागेका हुन् ।  

उनले ५ बुँदे  माग अघि सारेका छन् । स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरिनु पर्ने उनको माग रहेको छ ।

यसैगरी चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरिनुपर्ने, ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरिनुपर्ने तथा विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरिनु पर्ने उनको माग छ।

सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने र २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गर्न तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने उनले माग अघि सारेका छन् । मागहरूप्रति २०८३ साउन ५ गतेसम्म सम्बोधन गर्न दिइएको समयसीमालाई सरकारले बेवास्ता गरेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्