काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का सांसद गणेश पौडेलमाथि बिहीबार राति कालो मसी प्रहार गरिएको छ । गढीमाई नगरपालिका-७, पर्सामा आयोजना गरिएको स्थानीय कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि ‘मधेश मुक्ति अभियान’का कार्यकर्ताहरूले कालो मसी दलेका हुन् ।

स्थानीय नागरिकका समस्या तथा कृषि क्षेत्रमा देखिएको मलखादको अभाव जस्ता विषयमा छलफल गर्न आयोजना गरिएको ‘जनतासँग भेटघाट कार्यक्रम’ ढिला गरी सकिएपछि राति ८ देखि सवा ८ बजेको बीचमा यो घटना भएको थियो । कार्यक्रम समापन गरी फर्किने तयारीमा रहेका सांसद पौडेललाई पछाडिबाट आएका मास्कधारी व्यक्तिहरूले कालो मसी दलेका हुन् । कालो मसो दल्ने व्यक्ति भने फरार रहेका छन् ।
मसी दल्ने समूहको हातमा रातो झण्डा र पर्चाहरू रहेको तथा उनीहरू ‘मधेश मुक्ति अभियान’सँग सम्बद्ध रहेको जनाइएको छ । घटनालगत्तै स्थानीय तथा सहयोगीहरूले आरोपीहरूलाई लखेट्ने प्रयास गरे पनि अँध्यारोको फाइदा उठाउँदै उनीहरू फरार भएका थिए । अहिले प्रहरी घटनामा सहभागिहरुको खोजी कार्य गरिहरेको छ ।














