काठमाडौं । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएका रास्वपाका सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ । सिरहा-१ बाट निर्वाचित सांसद गुप्ताले सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैँले जरिबाना बुझाएका हुन् ।

गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो ।
आफ्नो आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका थिए । ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ । बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु,’ उनले लेखेका छन् ।
गुप्ताले थपेका छन्, ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’














