काठमाडौं । विश्वकपको ट्रफी उचाल्ने टोलीले इतिहास त रच्छ नै, उत्कृष्ट खेल्नेले व्यक्तिगत अवार्ड पनि हात पार्छ । तर सक्कली रमाइलो र प्रतिस्पर्धा त विश्वकप सकिएपछि सुरु हुन्छ– खेलाडीको ‘प्राइस ट्याग’ अर्थात् बजार मूल्यको । मैदानमा गरेको गोल र दिएको पासको हिसाब अब केवल तथ्याङ्कमा सीमित रहँदैन, सोझै करोडौँ युरोमा नापिन्छ । एउटा धमाकेदार विश्वकपले खेलाडीको करिअर मात्र होइन, उसको बैंक ब्यालेन्स र हैसियत रातारात बदलिदिन्छ । त्यसैले त भनिन्छ, आधुनिक फुटबलमा विश्वकप केवल एउटा प्रतियोगिता होइन, यो त संसारकै सबैभन्दा ठूलो ‘फुटबल स्टक मार्केट’ हो!
विश्वकप २०२६ सकिनेबित्तिकै ट्रान्सफरमार्केटले सार्वजनिक गरेको नयाँ खेलाडी मूल्याङ्कनले यही कुरालाई फेरि सिद्ध गरिदिएको छ । प्रतियोगितामा तहल्का मच्चाएका ९९ जना खेलाडीको भाउ फेरि तोकिएको छ । रोचक कुरा के छ भने, यसपालि कसैको मूल्य घटाइएको छैन । यसले के देखाउँछ भने, विश्वकपले खेलाडीको नाम मात्रै होइन, उसको दाम पनि मज्जैले बढेको छ ।
यसपालिको लिस्टको सबैभन्दा माथि लामिन यामाल र एर्लिङ हालान्ड छन् । स्पेनलाई दोस्रो पटक विश्वकप जिताउन मुख्य भूमिका खेलेका १९ वर्षीय यामाल र नर्वेका ‘गोल मेसिन’ हालान्ड संयुक्त रूपमा विश्वकै सबैभन्दा महँगा फुटबलर बनेका छन् । दुवैको बजार मूल्य २२० मिलियन युरो पुगेको छ, जुन ट्रान्सफरमार्केटको इतिहासकै हालसम्मकै उच्च मूल्य हो । यसलाई नेपाली रुपैयाँमा हिसाब गर्ने हो भने यो ३८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी हुन आउँछ । यो विश्वकपको जादूकै कमाल हो, जसले यी दुई स्टारको भाउमा मात्रै सोझै २० मिलियन युरो अर्थात् ३ अर्ब ५१ करोड नेपाली रपैयाँभन्दा बढीले उकालो लागेको छ ।
केही वर्षअघिसम्म यस्तो स्थानमा लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमार वा किलियन एम्बाप्पेजस्ता नाम हुन्थे। अहिले भने त्यो सिंहासनमा नयाँ पुस्ताले कब्जा जमाइसकेको छ । यामालको उकालो अझ विशेष छ । १९ वर्षको उमेरमै विश्वकप जित्ने टोलीको प्रमुख खेलाडी बन्नु आफैँमा असाधारण उपलब्धि हो । विश्वकपभर उनको आत्मविश्वास, गति, ड्रिब्लिङ र निर्णायक क्षणमा प्रभाव पार्ने क्षमताले उनी भविष्यका मात्र होइन, वर्तमानका पनि सबैभन्दा ठूला स्टार भएको प्रमाणित ग¥यो । त्यसैले त उनको बजार भाउ एकैपटक २० मिलियन युरोले उकालो लाग्नु कुनै संयोग मात्र होइन, विश्व फुटबलले आफ्नो नयाँ नायक भेटिसकेको प्रमाण हो ।
अर्कोतिर अर्लिङ हालान्डको पनि के कम ! प्रतियोगिताभरि सात–सात गोल ठोकेर उनले आफूलाई फेरि एकपटक विश्वकै सबैभन्दा खतरनाक स्ट्राइकर साबित गरिछाडे । क्लब फुटबलमा गोलको वर्षा गर्दै आएका हालान्डले विश्वकपमा पनि त्यही लय दोहोर्याए । त्यसपछि त उनको पनि मूल्य पनि २० मिलियन युरोले बढेर यामालकै बराबरीमा पुग्यो । अब विश्व फुटबलको सबैभन्दा महँगो ब्रान्ड यी दुई तन्नेरीकै पोल्टामा छ ।
यता फ्रान्सका किलियन एम्बाप्पे तेस्रो स्थानमा छन् । गोल्डेन बुट जित्दै उनको मूल्य पनि २० मिलियन युरोले बढेर २०० मिलियन युरो त पुग्यो, जुन आफैँमा ठूलो रकम हो । तर, हिजोसम्म एक्लै शीर्ष स्थानमा राज गरिरहेका एम्बाप्पे अहिले तेस्रो नम्बरमा पुग्नुको अर्थ उनी कमजोर भएका भने पक्कै होइनन् । प्रतिस्पर्धा झन् कडा भएको मात्र हो । अरु स्टार जन्मिएका हुन् । अब विश्व फुटबल कुनै एक जनाको पछि मात्र कुद्ने छैन, नयाँ–नयाँ प्रतिभाले उनीहरूलाई दिनहुँ टक्कर दिइरहेका छन् ।
यसपटकको मूल्याङ्कनमा जुड बेलिङ्घम र माइकल ओलिसेले पनि ठूलो छलाङ मारेका छन्। इंग्ल्यान्डका बेलिङ्घमको मूल्य ३० मिलियन युरोले बढेर १६० मिलियन पुगेको छ । प्रतियोगिताभर उनले मिडफिल्डमा देखाएको परिपक्वता, नेतृत्व क्षमता र खेल नियन्त्रणले उनी केवल उत्कृष्ट खेलाडी मात्र होइन, आगामी दशकका लागि क्लबहरूको दीर्घकालीन लगानी भएको सन्देश दिएको छ । अर्कोतिर फ्रान्समा माइकल ओलिसेले प्रतियोगितामा सर्वाधिक असिस्ट गर्दै आफ्नो सिर्जनात्मक क्षमता प्रमाणित गरे । त्यसैको इनामस्वरूप उनको मूल्य पनि २० मिलियन युरोले उकालो लाग्दै सिधै १७० मिलियन युरो पुगेको छ ।
त्यस्तै, छैटौँ नम्बरमा रहेका पेड्रीको ट्रान्सफरमार्केट मूल्य १५० मिलियन युरो छ भने जोआओ नेभेस, ख्भिचा क्वारात्स्खेलिया, भिटिन्हा र भिनिसियस जुनियरको मूल्य समान १४० मिलियन युरो रहेको छ । यता देसिरे डुए, जुलियन अल्भारेज र डिक्लन राइस समान १२० मिलियन युरोमा छँदा मोर्गन रोजर्स, एलियट एन्डरसन र बुकायो साकाको मूल्य ११० मिलियन युरो कायम भएको छ । यसैगरी, पाउ कुबार्सी, फेर्मिन लोपेज, फ्लोरियन भिट्ज र जमाल मुसियाला पनि समान १०० मिलियन युरोको मूल्यसहित यो सूचीमा समेटिएका छन् ।
विश्वकपपछिको यो नयाँ सूचीले अर्को एउटा रमाइलो कथा पनि भन्छ– त्यो हो, पीएसजीको बद्लिँदो रणनीति । हिजोसम्म पीएसजी भन्नेबित्तिकै तयार भइसकेका सुपरस्टारहरूमा पानीसरी पैसा बहाउने क्लब भनेर चिनिन्थ्यो । च्याम्पियन्स लिगको उपाधि जित्ने एकै ध्याउन्नमा क्लबले मेस्सी, नेयमार र एम्बाप्पेजस्ता हस्तीहरूलाई एउटै टोलीमा भित्र्याएको थियो । तर विडम्बना, यी तीन–तीन जना सुपरस्टार एकसाथ मैदानमा उत्रिँदा पनि पीएसजीले च्याम्पियन्स लिगको ट्रफी चुम्न सकेन । रोचक कुरा के छ भने, जब यी तीनै जना सुपरस्टार क्लबबाट बाहिरिए, त्यसपछि पीएसजीले लगातार दुईपटक च्याम्पियन्स लिगको उपाधि उचाल्यो । यसले के प्रमाणित गर्छ भने फुटबल कुनै एक–दुई जना ठूला नामको भरमा होइन, बलियो टिमस्पिरिट र सही रणनीतिकै दममा जितिन्छ ।
अहिलेको शीर्ष १० भित्रै जोआओ नेभेस, ख्भिचा क्वारात्स्खेलिया र भिटिन्हाजस्ता नयाँ अनुहारको दबाब छ । अझ शीर्ष ५० मा त देसिरे डुए, ब्राड्ली बारकोला, अश्राफ हाकिमी, नुनो मेन्डेस, वारेन जाइरे–एमेरी र विलियन पाचोजस्ता तन्नेरीहरूको बाक्लो उपस्थिति छ । यसको सीधा अर्थ हो– पीएसजी अब अरूले बनाएका चम्किला स्टार किन्ने होइन, आफ्नै पोल्टामा नयाँ सुपरस्टार जन्माउने दाउमा अघि बढिरहेको छ ।
स्पेनका दुई महारथी क्लब रियल म्याड्रिड र बार्सिलोनाले पनि आफ्नो प्रभाव कायम राखेका छन्। रियलसँग एम्बाप्पे, बेलिङ्घम, भिनिसियस जुनियर, फेडेरिको भाल्भेर्डे र आर्डा गुलर छन् भने बार्सिलोनासँग यामाल, पेड्री, फर्मिन लोपेज, पाउ कुबार्सी र एन्थोनी गोर्डन छन्। यी दुवै क्लबको सूची हेर्दा एउटा कुरा स्पष्ट हुन्छ– अब उनीहरू अनुभवभन्दा सम्भावनामा विश्वास गर्न थालेका छन् । युवा प्रतिभा नै भविष्यको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने बुझाइ दुवै क्लबमा स्पष्ट देखिन्छ ।
यद्यपि क्लबगत हिसाबले भने इङ्ग्लिस प्रिमियर लिगको दबदबा अझै कायम छ । म्यानचेस्टर सिटी, चेल्सी, लिभरपुल र आर्सनलका खेलाडीहरूको ठूलो संख्या शीर्ष सूचीमा छ । हालान्डदेखि कोल पाल्मर, मोइसेस कैसेडो, एन्जो फर्नान्डेज, फ्लोरियन भिट्र्स, बुकायो साका, डेक्लान राइस र विलियम सालिबासम्मका खेलाडीले देखाउँछन् कि प्रिमियर लिग केवल सबैभन्दा धेरै पैसा खर्च गर्ने लिग होइन, सबैभन्दा धेरै मूल्य उत्पादन गर्ने लिग पनि हो । विश्वभरको टेलिभिजन पहुँच, व्यावसायिक शक्ति र प्रतिस्पर्धी वातावरणले त्यहाँका खेलाडीको बजार मूल्यलाई अझ बलियो बनाइरहेको छ ।
मूल्य वृद्धिको हिसाबले इलियट एन्डरसन सबैभन्दा ठूलो विजेता बने । उनको मूल्य एकैपटक ३५ मिलियन युरोले बढेको छ । त्यसपछि जुड बेलिङ्घम र अयुब बुआद्दीको मूल्य ३०–३० मिलियन युरोले उकालो लागेको छ । यामाल, हालान्ड, एम्बाप्पे, माइकल ओलिसे, मोर्गन रोजर्स, जुलियन आल्भारेज, पाउ कुबार्सी र ब्राड्ली बारकोलाले पनि २०–२० मिलियन युरो थपेका छन् । यसले एउटा स्पष्ट सन्देश दिन्छ– विश्वकप राम्रो खेल्ने खेलाडीको आर्थिक भविष्य केही सातामै बदलिन सक्छ ।
यस सूचीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको युवा खेलाडीहरूको वर्चस्व हो । शीर्ष २० भित्र अधिकांश खेलाडी २५ वर्षभन्दा कम उमेरका छन् । यामाल, बेलिङ्घम, पेड्री, कुबार्सी, डुए, जोआओ नेभेस, भिटिन्हा, ओलिसे, मोर्गन रोजर्स र इलियट एन्डरसनजस्ता नामहरूले विश्व फुटबलको नयाँ पुस्ताको नेतृत्व गरिरहेका छन् । क्लबहरूले अब तत्कालको सफलताभन्दा दीर्घकालीन सम्भावनालाई प्राथमिकता दिन थालेका छन् । उनीहरूका लागि युवा खेलाडी खर्च होइन, भविष्यको लगानी हुन् ।
यही कारण अहिले खेलाडीको बजार मूल्य केवल एउटा तथ्याङ्क होइन । त्यसले सम्भावित ट्रान्सफर शुल्क निर्धारण गर्छ। तलबको स्तर तय गर्छ । विज्ञापन सम्झौताको मूल्य बढाउँछ । क्लबको आर्थिक हैसियत बलियो बनाउँछ । आज यामाल, हालान्ड वा एम्बाप्पे केवल मैदानका खेलाडी मात्र होइनन्, विश्वव्यापी ब्रान्ड हुन् । उनीहरूको नाममा जर्सी बिक्री हुन्छ, प्रायोजक जोडिन्छन्, सामाजिक सञ्जालमा करोडौँ समर्थक थपिन्छन् र क्लबले मैदानबाहिर पनि ठूलो आम्दानी गर्छ ।
विश्वकप २०२६ पछि सार्वजनिक भएको यो नयाँ मूल्याङ्कनले एउटा युगको अन्त्य र अर्को युगको सुरुवात स्पष्ट रूपमा देखाएको छ । एक दशकअघि विश्व फुटबल मेस्सी, रोनाल्डो र नेयमारका वरिपरि घुम्थ्यो । त्यसपछि एम्बाप्पेको समय आयो । अब भने केन्द्रमा यामाल, हालान्ड, बेलिङ्घम, पेड्री, ओलिसे, जोआओ नेभेस र अन्य युवा प्रतिभाहरू छन् । शक्ति सन्तुलन बदलिएको छ, बजारको सोच बदलिएको छ र फुटबलको अर्थशास्त्र पनि बदलिएको छ ।
त्यसैले विश्वकप २०२६ ले केवल नयाँ विश्वविजेता जन्माएको छैन, उसले विश्व फुटबलको नयाँ आर्थिक नक्सा पनि कोरेको छ । अब फुटबलको भविष्य केवल ट्रफीले होइन, प्रतिभा, उमेर, सम्भावना र बजार मूल्यले पनि तय गर्नेछ। र ट्रान्सफरमाक्र्टको पछिल्लो सूचीले विश्वलाई एउटै सन्देश दिएको छ—मेस्सी–रोनाल्डोको युग इतिहास बनिसकेको छ, अब विश्व फुटबल यामाल–हालान्डको नयाँ साम्राज्यमा प्रवेश गरिसकेको छ । ०००














