Logo
Logo

सुनसरीको कप्तानगन्ज अझै अशान्त, नेपाली सेनासहितको संयुक्त टोली गस्तीमा


504
Shares

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा एक जनाको ज्यान गएपछि अशान्त बनेको स्थिति अझै सामान्य हुन सकेको छैन।

आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि चर्किएको विवाद र तनाव अझै साम्य हुन नसकेको हो।

झण्डा नहटाएको र चर्को आवाजमा डीजे बजाएको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो। प्रहरीका अनुसार साउने सोमबारको ‘बोलबम’ यात्राका लागि एउटा समूह राति डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला नगर्न भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप स्थानीयले लगाएका छन्।

प्रशासनिक नेतृत्व फेरबदल
सम्भावित विवादबारे पूर्वजानकारी हुँदाहुँदै पनि सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरे, कोशी प्रदेशका डीआईजी विनोद घिमिरे र सुनसरीका प्रहरी प्रमुख (एसपी) केशवकुमार थेबे लगायतलाई जिम्मेवारीबाट हटाइएको छ।

गृह मन्त्रालयले सुनसरीको नयाँ सीडीओका रूपमा ईश्वरीप्रसाद अर्याल र कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा डीआईजी शेखर खनाललाई पठाएको छ। यद्यपि, सरुवा गरिएका तत्कालीन एसपी थेबे र डीआईजी घिमिरे घटनाका बेला बिदामै थिए। त्यस्तै, सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीलाई गृहमन्त्री सुधन गुरुङको निर्देशनमा घटनाअघि नै हेडक्वाटर तानिएको थियो र उनको ठाउँमा कसैलाई पठाइएको थिएन।

सुरक्षाकर्मी परिचालन र वर्तमान अवस्था
नयाँ प्रशासनिक तथा सुरक्षा नेतृत्वले जिम्मेवारी सम्हाले पनि स्थानीय अवस्था नियन्त्रणमा आउन सकेको छैन। घटनापछि सोमबार साँझ गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले संयुक्त रूपमा सुरक्षाकर्मी परिचालन गरी स्थिति चाँडो सामान्य बनाउने निर्णय गरेको थियो।

गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार थप मद्दतका लागि सुरक्षा टोली परिचालनको व्यवस्था मिलाइएको छ। सोमबार साँझदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली खटिए पनि अवस्था अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन।

अहिले नेपाली सेनाको कमाण्डमा क्षेत्रमा गस्ती भइरहेको छ। सुरक्षाकर्मीको उपस्थिति नरहेका केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन्। डीआईजी शेखर खनालका अनुसार स्थिति सामान्य बनाउने प्रयास निरन्तर जारी छ।

यसैबीच, मंगलबारका लागि आह्वान गरिएको सर्वदलीय बैठक भने बस्न सकेन। नयाँ सीडीओ अर्यालले सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिलाई बोलाएका थिए।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायतको उपस्थितिमा मंगलबार पनि गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्