Logo
Logo

देश फर्केपछि…


0
Shares


जीवनमा फेरि नयाँ अध्याय सुरु भयो । आफ्नै देश पनि लामो समयपछि फर्किँदा सबै कुरा फेरिएको अनुभव भयो । कतिसम्म भने हावापानी र संस्कृति पनि फेरिएको हो कि जस्तो लाग्यो । आफन्त र साथीहरुसँग भेट हुँदा न्यानो अनुभव हुनु आफ्नै ठाउँमा थियो । छयालिस सालको परिवर्तनपछि बहुदल आइसकेको थियो । राजनीतिक स्थिति पहिलेभन्दा फरक भइसकेको थियो । हाम्रो जीवनमा पनि ठुलै परिवर्तन आइसकेको थियो । चीन जानुअघिको म र फर्कँदाको म एउटै थिइन, न त सरोज नै उही थिए । हाम्रो जीवन–दृष्टिमा पनि धेरै परिवर्तन आउनु स्वाभाविकै थियो ।

सरोजको निम्ति आफ्नै घर फर्केको भएपनि मेरो निम्ति भने अवस्था भिन्दै नै थियो । नयाँ परिस्थितिमा भिज्नु थियो । घरमा आफै भान्छामा पसेर काम गर्न नपाउनु अनि सासुले पकाएको खाना पर्खेर खानु पर्ने आदि स्थिति मेरो स्वभाव र सपनासँग मेलखाने कुरै भएन । अलिकति भएपनि फराकिलो संसार देखेर आएको मान्छे, विदेशी साथीहरुबाट पाएको आत्मियता पनि बिर्सेको थिएन । आफ्नै देश र आफ्नै भनिएको घरमा परदेशी जस्तो जीवन बिताउनु सुखद कुरा थिएन ।

सरोज घरको जेठो छोरो, सक्षम सर्जन भएर फर्केकोमा बुवा सन्तुष्ट र गौरवान्वित हुनुहुन्थ्यो । पचहत्तर वर्ष कटिसकेको वृद्ध बुवाले सन्तानको राम्रो व्यवस्था होस् भनेर जसोतसो एउटा नयाँ घर बनाउनु भएको थियो । बुवाले त मलाई पनि राम्रै स्वागत गर्नु भएको थियो । छ महिना अघिदेखि नै हाम्री छोरी घर फर्केर स्कूलमा पढ्न थालिसकेकी थिई । बुवालाई लाग्थ्यो– उहाँले नातिनीलाई अभिभावकत्व दिइरहनु भएको छ । तर छोरीको मनोविज्ञान बुझ्ने भने कोही थिएन ।

अन्तरजातीय बिहेको दश वर्षपछि विदेशमा पाँच वर्ष बिताएर पैसा नकमाइ त्यो सगोल र बलियो परम्परागत मान्यता भएको घरमा खाली हात फर्किंदा धेरै कुरामा अप्ठ्यारो हुने नै भयो । हामी फर्किने भयौँ भन्दा परिवारका सदस्यहरु सबैको कुनै न कुनै अपेक्षा हुनु पनि स्वाभाविक नै थियो । हाम्रो भने त्यो पुरा गर्न सक्ने स्थिति बिल्कुलै थिएन । यस्तो बेलामा विदेशमा छँदा केही न केही त गर्न सक्थेँ, तर गर्न पाइन भनेर मनमा लागिरहन्थ्यो र त्यसका निम्ति सरोजलाई नै दोष दिइरहन्थेँ ।

घरमा दुईजना सासुआमा, नन्द–देवर सबैसँगको सम्बन्धमा तालमेल मिलाउन जानेकी पनि थिईन । बुहारीको जीवन बिताउने अनुभव नै थिएन । अब घरमा पसिनै सकेपछि बल्ल नयाँ कुरा सिक्दैपनि गएँ ।

सरोजको ध्याउन्ना भने स्वास्थसेवाको नयाँ ढाँचा बनाउने उद्देश्यमै एकोहोरिएको थियो । घरव्यवहार र पैसा कमाउने कुरामा कुनै हतार देख्दिन थिएँ । उनी दिनभरि काममा नै व्यस्त हुन्थे । म भने आफ्नो स्वभावको बिल्कुल विपरीत घरमा कोचिएर बस्नु पर्ने स्थिति आयो । त्यहाँमाथि अर्को बच्चापनि जन्माउने हुर्काउने समय पनि नजिकै आइसकेको थियो ।

देश फर्केपछि पहिलेजस्तै राजनीतिमा सक्रिय भूमिका खेलोस् भनेर पुराना साथीहरुले नबोलाएको पनि होइन । तर आफैलाई लाग्यो– पहिलेझैँ सानो बच्चालाई मातृसुखबाट वञ्चित गरेर पूर्णकालीन कार्यकर्ताको रुपमा काम गर्नु बुद्धिमानी हुँदैन । सत्ता राजनीतिमा लागेर कुनै पदमा आसिन हुने त सोच नै बनाएनौं हामी दुवैले । पार्टीबाहिरै बसेर देशको निम्ति आवश्यक परेको बेलामा काम गर्छौं भन्ने सोच भने कायमै थियो ।

सरोजले आफ्नो योजना अनुसार साथीहरुसंग मिलेर नयाँ अस्पताल खोल्ने योजनामा व्यस्त हुनै पर्ने थियो । त्यो बेलाका मित्रहरुमा डा. भरत प्रधान त्यतिबेलाको सभासद हुनुहुन्थ्यो । अर्का साथी सुमन श्रेष्ठ टूर्स ट्राभेल लगायतका व्यापार व्यवसायमा व्यस्त थिए । गौरी प्रधान आफ्नै एनजिओमा व्यस्त थिए । त्यसबेला नयाँ जिम्मामा लाग्ने सक्ने मान्छे त सरोज मात्र थिए । उनी लाग्नै पर्ने पनि भयो – संस्था र अस्पताल निर्माणको पूर्णकालिन काममा ।

फर्केको केहीसमय पछि नै बागबजारमा एउटा अफिस कोठा भाडामा लिएका थिए कामलाई अगाडि बढाउन । म पनि दिनभर घर बस्नुको सट्टा केही सहयोग पु¥याउन सक्छु कि भनेर हरेक दिन त्यही अफिसमा जान्थेँ र जस्तो सुकै काम पनि गर्थेँ । अफिसमा सफा गर्ने मान्छे र चिया पकाउने सहयोगी पनि कोही थिएन । सुरुमा म नै गरिदिन्थेँ त्यो सबै काम । ट्वाइलेट सफागर्ने देखि लिएर चिया पकाउने सम्म, कोही नयाँ मान्छे वा पुराना साथी आएको बेलामा उनीहरुसँग कुरा गरिदिनेसम्म, जे परि आउँछ त्यो गरिदिन्थेँ ।

नयाँ स्वास्थ्य संस्था छिटो तयार होस् भनेर सकि नसकि तन लगाउँथे, मनले प्रार्थना गर्थेँ । हामीसँग पैसा थिएन । आफूले अलिअलि बचाएर ल्याएको थोरै पैसा पनि सिद्धिसकेको थियो । कहिलेसम्म रिटायर भइसकेका बुढा बुवाको पेन्सनले पाक्ने खाना खाएर बस्ने ? जस्तै नकमाउने मान्छे भएपनि अलि अलि पैसा त चाहिन्थ्यो नै । ठुला अस्पतालमा काम गर्न भनेर निम्तो नआएको होइन । तर आफ्नै संस्था बनाउन व्यस्त भएको बेला अरु ठुला अस्पतालमा काम गर्न जाँदा आफ्नो मूल योजना अघि बढाउन गाह्रो हुन्छ भनेर उनी गएनन् । आफ्नै साथी डा. गौतम रत्न बज्राचार्यले बोलाएपछि उनको क्लिनिकमा कहिलेकाहिँ जान्थे सर्जरीको काम गर्न ।

काम भएको बेला अलिकति पैसा हुन्थ्यो र केही राहत हुन्थ्यो । पछि डा. अर्जुन देव भट्टले भनेर केही समय त्यतिबेला पुतली सडकमा भएको “दान्स केयर नर्सिङ होम“ मा जान थाले । त्यो पैसा थपिए पछि अलि अलि सजिलो होला भन्ने लागेको पनि थियो । तर बेला बेलामा पैसा देख्नै नपाइ सिध्दिसकेको हुन्थ्यो – नयाँ बनेको अफिसको भाडा तिरेर सकियो भन्ने जवाफ आउँथ्यो । म छक्क पर्थें ।

घरमा पनि त्यतिकै खान मलाई अप्ठ्येरो लाग्थ्यो । आफूसँग बचे खुचेको पैसा सोहोरसाहार पारेर क्षेत्रपाटीबाट बोरामा चामल भरियालाई बोकाएर घरमा लान्थें । नजानेको मान्छेले किनेको चामल मीठो भएनछ । त्यो सुनेपछि चामल किन्ने काम गरिन । अरु किसिमको सहयोग त्यो ठुलो परिवारमा हात्तीको मुखमा जिरा जस्तो मात्र हुन्थ्यो ।

पैसाको त्यो हाहाकारले गर्दा मैले पनि बाहिर काम गर्नै पर्छ भन्ने सोच दिन दिनै मनमा आउँथ्यो । साथी सुमन श्रेष्ठले ठमेलका केही व्यापारीका बच्चाहरुलाई ट्युशन पढाउने काम मिलाई दिए । दिनको एक घण्टा त्यहाँ गएर पढाउन थालें । त्यो बेला जम्मा एक हजार दिन्थे – हरेक दिन हैन – हरेक महिनामा ! त्यसमा पाँचसयले आफ्नै निम्ति दूध अण्डा किन्थेँ । अनि बाँकि पाँचसय घरकै सहयोगी केटा, अफिसमा जागीर चाहियो भनिरहेकोलाई त्यही अफिसमा पार्ट–टाइम काम गर्न पठाएर “तलब“ भनेर दिन्थेँ । जो पछि त्यो सिंगो ’फेक्ट’ अफिसकै निम्ति विस्वासिलो पहिलो कामदार पनि भए …।

प्रतिक्रिया दिनुहोस्