काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले अपिल गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका नेता जयकान्त राउत, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम अन्सारी तथा संविधान सभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।
संयुक्त वक्तव्यका मुख्य माग तथा बुँदाहरू:
-स्वतन्त्र छानबिन समिति: घटनाको सत्यतथ्य पारदर्शी रूपमा बाहिर ल्याउन अवकाशप्राप्त न्यायाधीशको संयोजकत्वमा शक्तिशाली न्यायिक समिति गठन गरिनुपर्ने।
-प्रधानमन्त्रीको सम्बोधन: घटनापछि प्रधानमन्त्री ५ दिनसम्म मौन बसेको र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको दाबी गर्दै प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गरी शान्ति, सद्भाव र कानुनी शासनको प्रत्याभूति गराउनुपर्ने।
-प्रहरी र प्रशासनमाथि कारबाही: घटनापछिको प्रहरी दमन र हस्तक्षेपमाथि गम्भीर प्रश्न उठाउँदै, दमनमा संलग्न अधिकारीहरूलाई अनुसन्धान अवधिभर निलम्बन गरी बल प्रयोगको औचित्यमाथि छानबिन हुनुपर्ने।
-सहिद घोषणा र क्षतिपूर्ति: मृतकलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुका साथै पीडित परिवारलाई रोजगारी र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने। साथै, घाइतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था हुनुपर्ने।
-बाह्य तत्वको अनुसन्धान: घटनामा कुनै बाह्य तत्व, रोहिंग्या वा संगठित समूहको संलग्नता छ/छैन भन्नेबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने।
वक्तव्यमा साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायले संयम र कानुनी मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिइएको छ। साथै, मधेशका विभिन्न क्षेत्रमा दोहोरिँदै आएका यस्ता तनावपूर्ण घटनाबारे निष्पक्ष छानबिन गरी सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवाहरूसँग समन्वय गर्न सरकारलाई आग्रह गरिएको छ।
नेताहरूले सम्पूर्ण नागरिकलाई कुनै पनि अफवाह, घृणा वा उत्तेजनाबाट टाढा रही संयम र सद्भाव कायम राख्न अपिल गर्दै निष्पक्ष छानबिन र न्यायबिना विश्वास पुनःस्थापित हुन नसक्ने स्पष्ट पारेका छन्।














