काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको दाङ जिल्ला, तुलसीपुर उप–महानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालको दुईतले अपरेसन थिएटर भवनको औपचारिक उद्घाटन गरिएको छ । हिजो बिहीबार भारतीय राजदूतावास काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रूपमा रिबन काटेर भवन उद्घाटन गरेका हुन् ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत तुलसीपुर उप–महानगरपालिकामार्फत कार्यान्वयन गरिएको हो । दाङ जिल्लाका लागि यो सातौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । समारोहमा मेयर खड्का, अस्पताल व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले यस क्षेत्रमा आँखा उपचार सेवालाई थप सुदृढ र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएदेखि भारत सरकारले नेपालका सातै प्रदेश समेट्ने गरी करिब ६०० वटा परियोजना अघि बढाएको छ । लुम्बिनी प्रदेशमा मात्रै ६६ वटा यस्ता परियोजना छन्, जसमध्ये दाङमा सात वटा छन् । यसका अतिरिक्त भारतले लुम्बिनी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थाहरूलाई १६९ वटा एम्बुलेन्स र ५९ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।
दाङमा मात्रै १९ वटा एम्बुलेन्स र आठ वटा स्कुल बस वितरण गरिएको छ । भारत र नेपालबीचको नजिकको छिमेकी सम्बन्ध र बहुक्षेत्रीय सहकार्यलाई प्रतिबिम्बित गर्दै यस्ता परियोजनाहरूले नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई थप बल पुर्याउने भारतीय राजदूतावासले जनाएको छ ।














