Logo
Logo

देवानगञ्जमा गोली लागि मृत्यु भएका परिवारबाट शव बुझ्न अस्वीकार


1.9k
Shares

काठमाडौँ। देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन् । सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोली काण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका छन् ।

गए राती गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिमा आज शव बुझ्ने सहमति भएको थियो । सहमतिपछि पनि परिवारले शव नबुझेपछि मृतकको अन्तेष्टी अन्योलमा परेको छ । स्थानीयको विरोध र असन्तुष्टीपछि शव बुझ्न विराटनगर आएका परिवारका सदस्य गाउँ फर्किएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्न अवरोध गर्नेहरूसँग छलफल भइरहेको बताए । उनले प्रहरीले समन्वय गरेर मिलाउने प्रयास भइरहेको जानकारी दिए ।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तान गन्जमा दुई समुदायका बिचमा भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको घटना स्थलमै मृत्यु भएको थियो । यस्तै गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।

दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको छ । सरकार र मृतक पक्षबिच बिहीबार राति सहमति भए पनि परिवारले शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्