Logo
Logo

गुण्डुको बैठक कक्षमा ओलीसँग वादविवाद चल्दाचल्दै ढले जगन्नाथ


0
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति पार्टी अध्यक्ष केपी ओलीसामु बोल्दाबोल्दै ढले ।

सोमबार साँझ ७ बजे अध्यक्ष ओलीको निवास गुन्डुमा बोलाइएका थपलिया दलका नेताबाट राजीनामा गर्न पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज तथा प्रदेश सांसदहरुबाट दबाब दिइएपछि बोल्दाबोल्दै बेहोस् भएका हुन् ।

‘पार्टीका अध्यक्ष, प्रदेश इन्चार्ज र अरु सांसदहरूले तपाईंले सक्नु हुन्न, छोड्नुस भनेपछि उहाँ (थपलिया) बढी नै भावुक हुनुभयो,’ एक सांसदले घटनाबारे जानकारी दिँदै भने, ‘४५, ५० वर्ष बढी योगदान गरेको पार्टीमा आज म कसरी अयोग्य भएँ भनेर बोल्दाबोल्दै बेहोस् हुनुभयो ।’

स्रोतका अनुसार, ओलीले थपलियाले मुख्यमन्त्री चलाउन सक्दैन भन्ने पुष्टि भएको तर्क गरेका थिए । ‘यति सहन नसकेर ढल्नुभयो । कसरी नेतृत्व गर्नुहुन्छ,’ ओलीले भनेका थिए, ‘राप्रपाको समर्थन भोलिसम्म जसले ल्याउँछ, उसैले नेतृत्व गर्ने हो ।’

गुन्डुमा भएको छलफलमा १७ जना सांसद सहभागी थिए । तीमध्ये १४ जनाले गत साता नै किरण थापामगरलाई मुख्यमन्त्री बनाउनेगरी हस्ताक्षर गरिसकेका थिए ।

तर गत शुक्रबार ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने वचन दिएका थिए । किरण थापामगर सहितको छलफल राखेर ओलीले भनेपछि थपलिया मुख्यमन्त्री बन्नेमा ढुक्क थिए ।

तर, अचानक प्रदेश इन्चार्ज महेश बस्नेतमार्फत गुन्डु बोलावट भएपछि उपस्थित भएका थिए । सो क्रममा अध्यक्ष ओली, इन्चार्ज तथा प्रदेश सांसदहरुले सरकार चलाउन नसक्ने भन्दै पेलानमा पारेपछि उनी बोल्दाबोल्दै बैठक कक्षमा बेहोस भएका हुन् ।

बोल्दाबोल्दै अचेत भएका थपलियालाई सांसदहरू केशव पोखरेल, दावा दोर्जे लामा लगायतले मध्यपुर ठिमी अस्पताल पुर्याएका थिए । यसपछि पनि गुन्डुको छलफल चलिरह्यो ।

प्रतिक्रिया दिनुहोस्