Logo
Logo

नेतृत्वले आत्मसमीक्षा नगरी वाम आन्दोलन अघि बढ्न सक्दैन


0
Shares

गत निर्वाचनले नेपालका कम्युनिष्ट पार्टीको पक्षमा अनपेक्षित मतपरिणाम आएपछि फेरि एकपटक वाम आन्दोलनको समीक्षा सुरु भएको छ । यसले वाम एकता, रुपान्तरण र पुस्तान्तरणको बहस पनि निकै पेचिलो ढंगले सतहमा ल्याएको छ । अहिले मुलुकका दुई मुख्य वाम घटक नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेताहरुले पार्टीभित्र पुस्तान्तरण र रुपान्तणको बहस तीव्र पारेका छन् ।

यसैबीच, एमाले र नेकपाको नेतृत्वबीच प्रदेशस्तरमा सत्ता सहकार्य गर्ने सहमति भएको छ । दुबै दलमा यसको समर्थन र विरोध जारी छ । कतिपयले दुई पार्टीबीचको प्रदेशमा सहकार्यले पार्टी एकताको वातावरण बनाउने अपेक्षा गरेका छन् । केहीले भने विगतकै असफल प्रयोगले आगामी दिनमा पनि परिणाम दिन नसक्ने टिप्पणी गरिरहेका छन् । यही परिवेशमा मुलुकको वाम आन्दोलनको विषयमा केन्द्रित रहेर नेकपाका युवा नेता लेखनाथ न्यौपानेसँग दृष्टिका लागि हिरेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको वाम आन्दोलनलाई कसरी सिंहावलोकन गर्नुहुन्छ ?
नेपालमा वाम आन्दोलन औपचारिक हिसाबले कम्युनिष्ट आन्दोलनमार्फत प्रवेश भएको हो । वाम आन्दोलन अघि बनेको नेपाली कांग्रेसले राजा र भारतपरस्त नीति ल्याएपछि त्यहाँ रहेका प्रगतिशील व्यक्तिहरुले कम्युनिष्ट पार्टी गठन गरे । लगभग ७७ वर्षको इतिहास हेर्दा हामीले जनताको बीचमा रहेका विभेद विरुद्ध काम गर्दा लोकप्रियता हासिल गरेका छौं । तर हामी जब सत्ताको चरणमा प्रवेश गर्छौं, त्यतिबेला विभेद गौण बनेर आफूलाई नै सर्वोपरी ठान्दै शासकीय प्रवृत्ति हाबी हुँदा जनतासँगको सम्बन्ध कट्दै गएको छ ।

६ सालदेखि ४६ सालसम्म कम्युनिष्ट पार्टीले सत्ताको विरुद्ध संघर्ष गर्दै आएका हुन् । त्यो समयमा कम्युनिष्ट पार्टी विश्वासका साथ लोकप्रिय रहेको थियो । जनताले कम्युनिष्ट पार्टीका लागि जे जे गर्नुपर्ने हो सबै गरेका छन् । तर सत्तारोहण भएपछि माया गर्ने बर्गप्रति बेखबर हुँदा जनतासँगको सम्बन्ध हराउादै गएर आजको अवस्था आएको हो । अर्को कुरा, सत्तामा पुगेपछि पनि केही समयसम्म जनताले माया गरेकै छन् । तर जनताको अपेक्षा पूरा गर्नतर्फ हामी नलाग्दा कम्युनिष्ट पार्टीप्रति विश्वास गुम्दै गएको हो ।

६२/६३ पछि माओवादीको सत्तारोहण कमजोरीले हिजोको वर्गसँगको सम्बन्धलाई जिवन्ततता दिन नसक्दा हामी गम्भीर रुपमा चुकेका हौं । यसको समीक्षा गर्न जरुरी छ ।

मुलुककाे राजनीतिक परिवर्तनमा वाम आन्दोलनले निर्वाह गरेको योगदानलाई नयाँ पुस्तामा पुस्तान्तरण र जनस्तरमा सुसूचित गर्न नसक्दा यो दुरावस्था आएको हो ?
जनस्तरमा संगठन त पुग्यो तर त्यसलाई राजनीतिकरण र सांस्कृतिकरण गर्न नसक्दाको दुष्परिणाम हो । जसलाई पनि पार्टीमा समाहित गर्ने तर कम्युनिष्ट चरित्र कायम गर्नेगरी प्रशिक्षित गर्न सकेनौं । त्यसले हाम्रो आफ्नो पहिचान हराउँदै जाँदा अनेकौं पात्र र प्रवृत्ति हाबी हुन पुग्यो ।

दोस्रो, मुख्य नेताहरु अर्थात वाम आन्दोलनका प्रतिनिधिहरुको जीवनशैली जनताको जस्तै छ भन्ने अनुभूति दिलाउन पनि सकेनौं । नेतृत्वले आफ्नो आदर्शको दृष्टान्त पेश गर्न नसक्दा पनि पछिल्लो पुस्ता वाम आन्दोलनको श्रृंखलाप्रति बेखबर छ ।

विगत ६३ सालपछि जनयुद्धबाट आएको व्यक्तिले पटक पटक शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका हुन् । तर त्यो इतिहासको श्रृंखला पछिल्लो पुस्तालाई पढाउन नसक्नु गम्भीर कजोरी भयो । हामीले जनस्तरमा विचार पुर्याउन सकेनौं भने विद्यालय र विश्वविद्यायमा वाम आन्दोलनको योगदानको स्मरण गराउन सकेनौं अनि पछिल्लो पुस्ताले कहाँ पढ्छ ? यसरी हामीले पुस्तान्तरण गर्न चुकेका हौं । त्यसको जिम्मा हामी सबैले लिनुपर्छ ।

अर्को, बनिबनाउ राज्यसत्तामा जाने कि नजाने भन्ने बहस पनि कम्युनिष्ट आन्दा्ेलनमा चलेको हो । जुन वर्गको लागि क्रान्ति गरिएको हो त्यसकै सत्ता स्थापित भएपछि जानुपर्छ भन्ने मान्यता पनि थियो । हामी पनि सत्तामा जाँदा आफूलाई रुपान्तरित गर्न नसक्दा सत्ताको चरित्र अनुरुप आफैं बदलियौं । त्यसकै उपज आजको दुरावस्था निम्तिएको हो । नेपालको वाम आन्दोलनलाई बुझ्दा र संश्लेषण गर्दा यी दुबै धाराबाट हेर्नुपर्छ ।

अर्को, एउटा चुनावबाट मत प्राप्त गर्ने र त्यसकै आधारमा जनताको काम गर्ने धारा पनि छ । विगतमा जो सत्ताको मुख्य शक्ति थियो त्यही नै चुनावमा बलशाली हुँदै आएको छ । ७ सालयताका सबै चुनावी परिणाम हेर्नुभयो भने जसले आन्दोलनको नेतृत्व गरेको छ त्यही नै चुनावमार्फत शक्तिशाली बन्दै आएका छन् । विगत ७४ सालमा दुई तिहाइ नजिकको वामपन्थी शक्तिले उल्लेखनीय काम केही पनि गर्न नसक्दा पार्टी र सत्ताको दुबै जोगाउन सकेनौं । अहिले संसरभरको कम्युनिष्ट आन्दोलनको रुझान हेर्दा एक पटक धक्का खाएपछि फेरि त्यही पुरानै अवस्थामा फर्कन निकै मुश्किल देखिएको छ । त्यसका लागि अब विगतका कमजोरीबाट आत्मआलोचित र आत्मस्वीकृतीसहित हालको पदीय जिम्मेवारीबाट बाहिरिएर भए पनि वाम आन्दोलन जोगाउनुपर्छ ।

वाम आन्दोलनमा सिद्धान्त र व्यवहारको तादाम्यता नमिलेको अनुभूति हुन्छ । यो सिद्धान्त र व्यवहारबीचको खाडललाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?
मूलतः राजनीति पार्टी सामाजिक संरचना अनुरुप नै विकसित भएका हुन्छन् । आजको सामाजिक अन्तरविरोध जस्तो छ पार्टीहरु पनि त्यस्तै हुने हो । कहिले काही आधार संरचना र उपरिसंचनाले पार्ने प्रभावका विषयमा द्वन्द्ववादी तवरले हेर्नुपर्छ । सिद्धान्त बुझ्न र लागू गर्न गाह्रो तर भन्न सजिलो विषय हो । कम्युनिष्टहरु चेतनामा जनता भन्दा अगाडि तर अरु व्यवहार चाहिँ जनताको जस्तै हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता छ । तर व्यवहारतः त्यस विपरीतको अवस्था हुँदा विश्वसनीयता गुम्दै गएको हो । अहिले कम्युनिष्ट आन्दोलनको अगुवाको जीवनशैली आज जनताको भन्दा बिल्कुल आकाश र जमिनको फरक छ । मूल नेतृत्वले व्यवहारमा जनता जस्तै हुनका लागि धेरै ठूलो त्याग गर्नुपर्नेमा त्यसो गर्न नसक्दा नै जनताको विश्वास गुमाउने अवस्था आएको हो । त्यसैले सिद्धान्त अनुरुपको व्यवहार निकै कठिन फलामको च्युरा चपाए जस्तै हुन्छ । आजभोलि कम्युनिष्टहरु कम्मल ओढेर घिउ खान्छन् भन्ने भाष्य चर्चित हुनु सिद्धान्त र व्यवहारको तालमेल नमिल्दाकै उपज हो । बरु जे गर्नुछ अलि खुलेर पारदर्शी तवरले सामूहिकतामा काम गरौं । पार्टीको शीर्ष नेताहरुको आवश्यकता र जीवनयापनका लागि स्रोत साधनको निश्चित मापदण्ड तय गरौं । स्रोतबिनाका जीवन शैलीले सिद्धान्त खिसीट्युरीको विषय बन्छ । अहिले हाम्रो मुख्य समस्या नै यही हो ।

अहिले बरु पुँजीवादीहरुले निश्चित मापदण्ड बनाएर अघि बढेका छन् तर कम्युनिष्टहरु समय सापेक्ष भएनन् भन्ने आरोप पनि लाग्दै आएको छ । नीति र नेतृत्वको विषयमा पनि विरोधाभाष देखिँदै आएको छ । यसको हल कसरी गर्न सकिन्छ ?
नेपालको वाम आन्दोलनभित्र पार्टी प्रणालीको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था छ । यो समस्या मुलुकका सबैजसो वाम पार्टीमा छ । अहिले पनि हाम्रो पार्टीमा क्षमता अनुसार विभागीय जिम्मेवारी दिइएको पाइँदैन । त्यसकारण हाम्रो नीति र पार्टी संरचना नै मुख्य समस्या हो । अहिले हरेक पार्टीमा सामूहिक रुपमा छलफल नगर्ने र निजी विचारलाई नै संस्थागत निर्णयको रुपमा व्याख्या गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिले पार्टीलाई पूर्णतः निर्जीव बनाउँछ । यस्तै कारणले पनि हामी पुँजीवादी भन्दा पछि परेका हौं ।

अहिले पुँजीवादी देशले शिक्षा र स्वास्थ्यमा जे गरेका छन्, हामीले त्यति पनि गर्न सकेका छैनौं । विगतमा हामीले निजी शिक्षा र स्वास्थ्यको विरुद्धमा आन्दोलन गरे पनि आज हामी त्यही क्षेत्रकै मालिक भएका छौं । यो सम्बन्धी पार्टीको स्पष्ट नीति पनि केही छैन । यसलाई ‘करेक्सन’ गर्ने पार्टी प्रणालीले गर्नुपर्नेमा पार्टी प्रणाली नै मृतप्राय छ । त्यसैले अहिलेको मूल आवश्यकता भनेको पार्टी प्रणालीको विकास गर्नु नै हो । त्यसको विकास नगर्दा हामी अहिले कैयौं सन्दर्भमा ‘डेट एक्सपायर’ जस्तो भएका छौं । नेतृत्वमा बसेको मान्छे मात्रै एक्सपायर हुँदैन, त्यसको निर्देशन पालना गर्ने अरु नेता कार्यकर्तामा पनि सोही प्रभाव पर्छ । हिजोको नेतृत्वले आजको सन्दर्भमा अनेकौं चुनौती समाधान गर्न असक्षम हुने अवस्था छ । आजका नयाँ पुस्तासँग समेट्ने नेतृत्वको विकास हुन सकेको छैन । नयाँ र परिवर्तित सन्दर्भ अनुसार नेतृत्व चयन गरिनुपर्छ ।

आजका अधिकांश वाम पार्टीले प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने नीति बनाए पनि पार्टीमा त्यसको प्रत्याभूति हुन सकेको छैन । लोकप्रियताका आधारमा नेतृत्वमा आउने विषयलाई कदापि रोक्न सकिँदैन । तर अनेका हत्कण्डा प्रयोग गरेर नेतृत्व नछाड्ने प्रवृत्ति छ । नेपालको कम्युनिष्ट आन्दोलनमा नेतृत्वबाट विमुख भए नेता नै भइँदैन भन्ने मनोविज्ञान व्याप्त छ । चिनियाँ कम्युनिष्ट पार्टीमा अबको पचासदेखि सय वर्षको चुनौतीहरुका विषयमा छलफल गर्ने गरिन्छ । तर हाम्रोमा भने भोलिको परिघटनाका विषयमा पनि जानकारी नराख्ने अवस्था छ ।

एउटा विधि, पद्धति र प्रणालीको विकास गरेर नेतृत्व निर्माण गर्नुपर्नेमा आजीवन पार्टीको शक्तिमा रहने मोह सबैमा छ । कम्युनिष्ट आन्दोलन ओरालो लागेपछि फेरि पुनर्जीवन नपाएको विश्व कम्युनिष्ट आन्दोलनको इतिहास रहेकाले यही प्रवृत्तिले निरन्तरता पाउने हो भने भोलि सिंगो वाम आन्दोलन नै धराशायी अवस्था आउनसक्छ । त्यतिबेला हाम्रा विगतका योगदान पनि विलिन हुन्छन् । त्यसैले अहिलेको नेतृत्वले यसबारेमा गम्भीरताका साथ सोच्नुपर्ने हो । तर विडम्बना त्यस्तो अझै देखिएको छैन ।

मुलुकको वाम आन्दोलनमा अहिले देखा परेको संकटको निवारण फेरि वाम एकताबाटै सम्भव छ ?
अहिले पनि हाम्रो पार्टीका नेताहरुमा एक रति पनि आत्मस्वीकृति देखिँदैन । यत्रो लामो समय कम्युनिष्टले सरकारको नेतृत्व गरे तर किसानको मलको समस्या कहिल्यै हल हुन नसक्नुको कारण के हो ? यसको आत्मसमीक्षा या आत्मस्वीकृति गर्नुपर्छ कि पर्दैन ? आज समय र समाज बदलिएको छ । उत्पादनका साधन पनि परिवर्तन भएको छ । अहिले पनि सुकुमबासीको समस्या यथावत छ, त्यसको दीर्घकालीन समाधानको पहल हामीले किन गर्न सकेनौं ? यसको आत्मस्वीकृति गर्नु नपर्ने हो ?

अब नेतृत्वको विषयमा हेर्ने हो भने म जन्मेकै समयमा मोहन विक्रम सिंह पार्टीको नेतृत्वमा हुनुहुन्थ्यो । उहाँ अहिलेसम्म पनि एउटा पार्टीको मूल नेतृत्वमा हुनुहुन्छ । नेताहरु लामो समयदेखि नेतृत्वमै रहेर कम्युनिष्ट आन्दोलनले थप गति र परिणाम दिन सकेको भए त ठिकै हुन्थ्यो । उल्टै रक्षात्मक अवस्थामा पुगेको छ । विगत ७४ सालको जस्तो स्थिति त अब कदापि बन्नेवाला छैन । अहिलेको चुनावी परिणामलाई आगामी यात्राको प्रस्थान बिन्दु बनाउनुपर्छ ।
हिजो संसद बाहिर पनि ठूलो वाम शक्ति थियो । तर अहिले अवस्था त्यस्तो रहेन । यसबाट गम्भीर शिक्षा लिएर तीनबुँदे सहमति भएको हो जस्तो मलाई लाग्दैन । संघीयताबारे जनतामा बढिरहेको वितृष्णालाई किन तीन बुँदेले सम्बोधन गर्न सकेन ? प्रदेशको सरकारका बारेमा के गर्ने भन्ने विषयमा सम्बन्धित प्रदेशलाई नै त्यसको जिम्मा दिइनुपथ्र्यो । त्यसले संघीयतालाई नै बलियो बनाउथ्यो । तर नेतृत्वले जे गर्यों यो चाहिँ अलि मिलेको छैन ।

चुनाव लड्ने दलहरुबीच एकता हुनु सैद्धान्तिक रुपले ठिकै होला । तर दुई तीन नेता मिलेर मात्रै गरिने निर्णयले आजको सन्दर्भमा पार्टीलाई हित गर्दैन । त्यसकारण कमिटी प्रणालीबाट मात्रै हरेक निर्णय गर्नुपर्छ । नेकपा बनाउँदा दुई पाइलटको बीचमा भएका कमी कमजोरीको आत्मसमीक्षा गर्दै तीन बुँदेमा अर्को बुँदा पनि थप गर्नुपर्ने थियो ।

अन्त्यमा, नेपालको वाम आन्दोलनको आगामी भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालमा वाम आन्दोलनको सान्दर्भिकता र धरातलको विषयमा कुरा चल्न थालेको छ । मुलुकको वाम आन्दोलनको धरातल अझै पनि बलियो नै छ । हामीले टेक्ने जमिन बलशाली छ । यो जगमा टेकेर जाने हो भने फेरि पुनरोदय अवश्य हुन्छ । कम्युनिष्ट पार्टी विभेदका विरुद्ध लडेर टिकेको हो । अहिले पनि हाम्रो समाजमा विभेद कायमै छ, कतिपय सन्दर्भमा अझै बढेको पनि छ । त्यसको विरुद्ध लड्ने शक्ति कम्युनिष्ट पार्टी नै भएकाले अझै सान्दर्भिकता जिवीतै छ । तर, रुपान्तरित भएर जनतामा आशा दिलाउने दायित्व नेतृत्व तहमा रहेकादेखि सबै नेता कार्यकर्ताले निर्वाह गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्