काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः प्राप्त हुने अमेरिकी नागरिकतालाई सीमित गर्ने तथा ‘बर्थ टुरिज्म’ रोक्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

केही साताअघि अमेरिकी सर्वोच्च अदालतले यसै विषयमा जारी गरिएको उनको अघिल्लो आदेश खारेज गरेपछि ट्रम्पले नयाँ आदेश ल्याएका हुन् ।
पहिलो कार्यकारी आदेशले ‘बर्थ टुरिज्म’ रोक्ने लक्ष्य राखेको छ । ट्रम्प प्रशासनका अनुसार केही विदेशी नागरिक पर्यटन भिसामा अमेरिका पुगेर त्यहाँ सन्तान जन्माउने र जन्मसिद्ध नागरिकताको व्यवस्था प्रयोग गरी बच्चालाई स्वतः अमेरिकी नागरिक बनाउने उद्देश्य राख्छन् । प्रशासनले यस्तो अभ्यासलाई रोक्न आवश्यक रहेको जनाएको छ ।
दोस्रो आदेशमार्फत जन्मसिद्ध नागरिकता नपाउने व्यक्तिको दायरा अझ फराकिलो बनाइएको छ । यसमा विदेशी सरकारका कर्मचारी, उनीहरूका तर्फबाट काम गर्ने वा प्रभाव पार्ने गतिविधिमा संलग्न व्यक्तिका सन्तान तथा अन्य केही वर्गका बालबालिकालाई समावेश गरिएको छ ।
नयाँ आदेशअनुसार ‘बर्थ टुरिज्म’मार्फत अमेरिका पुगेका व्यक्तिका सन्तान, आतङ्कवादी समूहसँग सम्बन्धित व्यक्तिका सन्तान, विदेशी सरकारका कर्मचारीका सन्तान तथा सङ्घीय कानुनअनुसार स्वतः नागरिकता नपाइने केही अमेरिकी भूभागमा जन्मिएका बालबालिकालाई नागरिकतासम्बन्धी कागजात जारी नगरिने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसअघि गत जुन ३० मा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको पहिलो कार्यकारी आदेश खारेज गर्दै अमेरिकामा जन्मिएका अधिकांश व्यक्तिले संविधानअनुसार स्वतः अमेरिकी नागरिकता पाउने व्यवस्था कायम रहेको स्पष्ट पारेको थियो । अदालतले एक सय वर्षभन्दा बढी समयदेखि लागू रहेको संवैधानिक व्यवस्थालाई निरन्तरता दिएको थियो ।
ओभल कार्यालयमा नयाँ आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई ुदुर्भाग्यपूर्णु भन्दै अब त्यसमा आवश्यक परिवर्तन गर्न सरकारले कदम चालेको बताएका थिए । उनका अनुसार अहिलेको कानुनको दुरुपयोग गर्दै ‘बर्थ टुरिज्म’लाई व्यवसायका रूपमा सञ्चालन गरिएको छ ।
अमेरिकी संविधानको १४औँ संशोधन, जुन सन् १८६८ जुलाई ९ मा लागू भएको थियो, अमेरिकामा जन्मिएका वा कानुनी रूपमा नागरिकता प्राप्त गरेका सबैलाई अमेरिकी नागरिक मान्ने व्यवस्था गर्दछ । यो प्रावधान गृहयुद्धपछि पूर्वदासलाई नागरिकता प्रदान गर्न ल्याइएको थियो ।
ह्वाइट हाउसका उपप्रमुख स्टेफन मिलरले धेरै व्यक्ति पर्यटकका रूपमा अमेरिका आए पनि उनीहरूको वास्तविक उद्देश्य बच्चालाई अमेरिका जन्माएर अमेरिकी नागरिकता दिलाउनु रहेको दाबी गरे । उनका अनुसार त्यसपछि ती परिवारले सरकारी सुविधा, सामाजिक कार्यक्रम तथा नागरिक अधिकारको लाभ लिन सक्ने भएकाले यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक भएको हो ।
यता, आप्रवासन कानुनका विज्ञहरूले भने ट्रम्पका नयाँ आदेश संविधान विपरीत रहेको बताएका छन् । अमेरिकन सिभिल लिबर्टिज युनियनले जन्मसिद्ध नागरिकता संविधानद्वारा सुरक्षित अधिकार भएकाले ट्रम्पको नयाँ आदेश अदालतमा टिक्न कठिन हुने जनाएको छ।
माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार हरेक वर्ष अमेरिकामा ‘बर्थ टुरिज्म’मार्फत करिब २२ हजारदेखि २६ हजार बालबालिकाको जन्म हुने अनुमान छ । यद्यपि अमेरिकी सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा ९ हजार ६ सय बालबालिकाको जन्म दर्ता भएको थियो ।














