काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले अमेरिकाले इरानका ६ वटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन् ।

जोलगाद्रले अघि सारेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तत्काल हटाउनुपर्ने, इरानविरुद्धका धम्की रोक्नुपर्ने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेलगायत विषय छन् ।
विश्लेषकहरूका अनुसार जोलगाद्रले यसअघि इरानले राख्दै आएका मागलाई नै दोहोर्याएका छन् । तर, पछिल्लो अभिव्यक्तिले होर्मुज जलडमरूमध्यको विषयमा वार्ताका क्रममा इरानले कडा अडान लिएको संकेत गरेको छ ।
यो अभिव्यक्ति इरान र ओमानबीच होर्मुज जलडमरूमध्यमार्फत पानीजहाज आवतजावतका लागि नयाँ व्यवस्था गर्ने विषयमा भएको पछिल्लो वार्तालाई दुवै पक्षले ‘सकारात्मक र रचनात्मक’ भनेका बेला आएको हो ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । तर, उनले सम्झौता हुँदैमा होर्मुज जलडमरूमध्य तत्काल खुल्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार जलमार्ग पुनः सञ्चालनका लागि अन्य सर्त पनि पूरा गर्नुपर्नेछ ।
यसअघि समाचार संस्था रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबीच होर्मुज जलडमरूमध्यका विषयमा भएको वार्तामा प्रगति भएको जनाएको थियो । अमेरिकाले पनि छिट्टै सम्झौता हुने अपेक्षा गरेको ती अधिकारीले बताएका थिए ।
ती अमेरिकी अधिकारीका अनुसार होर्मुज जलडमरूमध्यमार्फत व्यावसायिक पानीजहाजलाई बिना अवरोध आवतजावत गर्न दिने सुनिश्चिततासहितको सम्झौता घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने अपेक्षा गरिएको छ ।
होर्मुज जलडमरूमध्य विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । यस क्षेत्रमा उत्पन्न हुने अवरोधले विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले इरानको पछिल्लो अडानलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।














