काठमाडौं । जेनजी विद्रोहको जगमा उभिएको सरकारको क्रियाकलापप्रति छिमेकीहरु असन्तुष्ट भएको कुरा बाहिर आएको छ । नयाँ राजनीतिक परिवेशमा छिमेकी र मित्रराष्ट्रहरुको विश्वास जितेर अगाडि बढ्नुपर्नेमा समकालीन बाहेक अन्य कुनै पनि देशका राजदूतहरुसँग नभेट्ने सरकारको रणनीतिले छिमेकीहरु यो सरकारप्रति सशंकित भएका हुन् ।

त्यसमाथि पार्टी सभापति रवि लामिछानेको चीन भ्रमणको चर्चा चलिरहेको बेला नेपालमा चीन विरोधी सम्मेलनको लागि सरकारले अनुमति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस घटनालाई चिनियाँ सरकारले नेपालसँग गम्भीर असहमति राख्दै गम्भीर चेतावनी दिएपछि काठमाडौँमा भदौ ७ देखि १३ गतेसम्म हुने तयारी भएको १७ औँ इन्टरनेसनल एसोसिएसन फर टिबटेन स्टडिज (आईएटीएस) सम्मेलन रोकिएको समाचार स्रोतले बताएको छ ।
गत साता चिनियाँ सरकारको हवाला दिएर परराष्ट्र मन्त्रालयमार्फत कडा चेतावनी दिएपछि सरकार गम्भीर बनेको हो । गृहमन्त्री सुधन गुरुङको जोडबलबाट हुन लागेको सम्मेलनको आयोजक संस्था आईएटीएस भित्र कुनै पनि नेपालीहरु सदस्य छैनन । तर पनि सो संस्थाले काठमाडांै विश्वविद्यालयसँग मिलेर सम्मेलन आयोजना गर्न लागेको थियो । यस घटनालाई चीनले गम्भीरतापूर्वक लिएको थियो ।
काठमाडौँमा आयोजना हुन लागेको उक्त कार्यक्रमबाट चीन रिसाउँछ भन्ने कुरालाई ख्यालै नगरी एक चीन नीतिविरुद्ध काठमाडौँमा उक्त कार्यक्रम गर्नु भनेको चीनलाई चिढ्याउनु हो ।
भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा मुख्यालय रहेको केन्द्रीय तिब्बती प्रशासन (सीटीए) बाट अनौपचारिक रूपमा केही प्रतिनिधिहरू सो सम्मेलनमा भाग लिन काठमाडौँ आउने कार्यक्रम थियो । पहिले सीटीएले आफ्नो ‘थिंक ट्यांक’ तिब्बत नीति संस्थान (टीपीआई) बाट पाँच जना प्रतिनिधि पठाउने तय भएको स्रोतले बताएको छ ।
काठमाडौँस्थित नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र सचिव अमृतबहादुर राईलाई साउन ५ गते भेटेर दबाब दिएका थिए । लोब्साङ राङजेन (पाल्जेन) नामक एक जना तिब्बतीले गत असार १९ गते न्युयोर्कमा संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि आत्मदाह गरेपछि अमेरिका, युरोप, अस्ट्रेलिया र भारतसहित संसारभर छरिएका तिब्बती शरणार्थीहरूले चीनविरुद्ध प्रर्दशन र गतिविधिहरू तीव्र बनाएका छन् ।
भारतको नेपाल सीमानजिकै दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी, सिक्किम, दिल्ली, धर्मशाला, लद्दाख र दक्षिण भारतमा समेत तिब्बत युथ कंग्रेस(टीवाईसी), तिब्बत विमिन एसोसिएसन (टीडब्लूए), गुचुसुम मुभमेन्ट (पूर्व कैदी‐बन्दीको संस्था), स्टुडेन्ट फर फ्री टिबेट (एसएफटी) र नेसनल डेमोक्रेटिक पार्टी अफ टिबेट (एनडीपीटी)ले चीनविरुद्ध चरणबद्ध आन्दोलन गर्न थालेका छन् । लोब्साङले आत्मदाह गरेपछि लद्दाखमा दलाई लामा उपस्थित हुने कार्यक्रमहरू समेत स्थगित भएको छ ।
आगामी सेप्टेम्बर १२‐१३ मा दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी चिनफिङ दिल्ली जाने कार्यक्रम छ । चिनियाँ चासो र अनुरोधपछि सो ब्रिक्स सम्मेलनमा राष्ट्रपति सी उपस्थित हुने कार्यक्रममा तिब्बती मिडियालाई सहभागी हुन भारत सरकारले रोक लगाएको छ ।
यसरी चीनविरुद्ध चरणबद्ध प्रर्दशन र कार्यक्रम हुन थालेसँगै तिब्बतसँग सीमा जोडिएको नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा पनि चीनविरुद्ध कुनै आवाज नउठोस् भन्ने बेइजिङको इच्छाले यो सम्मेलन रोकिएको हो ।
यसअघि यूरोप र अमेरिकामा हुने यो सम्मेलन नेपालमा पहिलो पटक गर्न लागिएको थियो । धर्मगुरु दलाई लामाको जन्म दिन मनाउन सरकारले समेत छुट दिएपछि यो सम्मेलन गर्न आईएटीएस उत्साही भएको थियो । गृहमन्त्री सधन गुरुङ तिब्बती समुदायप्रति लचिलो भएका कारण पनि आईएटीएसले नेपाललाई रोजेको अनुमान गरिएको छ ।
जेनजी आन्दोलनको बेला पानी बाड्ने बहनामा छिरेका गुरुङ अहिले गृहमन्त्री रहेका छन् । गृहमन्त्री हुँदा उनले तिब्बती शरणार्थीहरुलाई दलाई लामाको जन्मदिन मनाउन प्रशासनबाटै अनुमति दिलाएका थिए । त्यसमा चिनिया दूतावासले आपत्ति जनाएपनि वेवास्था गरेको थियो । तर आईएटीएस संस्थाले तिब्बती सम्मेलन गर्न लागेपछि भने दूतावास नै फिर्ता लैजाने धम्की दिएको थियो । नेपालको सन्दर्भमा यो गम्भीर विषय बनेको छ ।














