काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसले नेकपा एमालेसंगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेशमा सत्ता गठबन्धन गर्ने तीन बुँदे सहमति भएको थियो । त्यसपछि नेपाली कांग्रेसले प्रदेश सरकारका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।
८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न ४ जनाले राजीनामा दिएपछि अहिले ८३ जना मात्रै सांसद छन् ।
हाल कायम रहेको सदस्य सङ्ख्याको आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् ।
सरकारलाई बहुमत जुटाउन ओली र प्रचण्डले एक जना प्रदेश सभा सदस्य रहेको राष्ट्रिय जनमोर्चासँग सहमति गरेको थियो । अहिलेको सरकारमा लोसपा र जसपा नेपालबाट समेत एक९एक जना मन्त्री सहभागी भएकाले यी दलको समेत समर्थन भएमा सरकारलाई बहुमत पुग्ने देखिन्छ ।
एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र हालका मुख्यमन्त्री आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने समझदारी भइसकेको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी छ । हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका एक र लोसपाका एक जना मन्त्री सरकारमा छन् ।












