
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका विषयमा प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा मात्र सम्भव नहुने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनको लागि आफूहरू दुई तिहाइ पु¥याउन तयार रहेको बताएका थिए ।
त्यसको जवाफ दिँदै लामिछानेले भने, ‘प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्दैनौँ भन्ने त पक्कै पनि होइन, त्यो हामी सबैलाई थाहा छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र दुई तिहाइले हुन सक्दैन। यी लगायतका कुराहरूलाई हामीले अवश्य ध्यान दिनुपर्छ।’
उनले स्पिरिटका लागि सरकारलाई सघाउँछौँ भन्ने कुराको स्वागत गरे । संवैधानिक निकायमा नियुक्तिको प्रक्रियालाई संविधानमा व्यवस्था भएअनुसार अधिकतम मेरिटका आधारमा अघि बढाउनुपर्ने उनले बताए ।
कुनै व्यक्तिसँग असहमति वा विवाद भएकै आधारमा संवैधानिक संस्था र त्यसको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको गरिमा र विश्वसनीयतामा असर पर्न सक्ने उनको भनाइ छ ।












