
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ ।
आज बसेको राप्रपा सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो । बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको बताइएको छ ।
थापाले पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेका थिए । राप्रपाले बाग्मती प्रदेश सरकार निर्माणका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत कुनै पनि दललाई समर्थन नगर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको थियो ।
तर, सोही निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि पार्टीले उद्धव थापामाथि अनुशासनको कारबाही गरेको हो ।












