
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा राइट टु रिकल अवधारणा समिति बनाएको छ ।
शुक्रबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले आचार्यको नेतृत्वमा ११ सदस्यीय सो समिति गठन गरेको हो । सदस्यहरू महामन्त्री आचार्यले थप्नेछन् । रास्वपाले आफ्नो विधानको भाग २० मा निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था गरेको छ ।
जनप्रतिनिधिले जनअपेक्षाविपरीत वा पार्टीको हितविपरीत काम गरेको सप्रमाण लिखित उजुरी र पार्टीको अनुशासन आयोगले जनप्रतिनिधिको कार्यसम्पादन अत्यन्तै कमजोर रहेको वा गम्भीर विचलन भएको प्रतिवेदन पेस भएमा राइट टु रिकलको प्रक्रिया सुरु हुने विधानमा उल्लेख छ ।
यसमा सम्बन्धित जनप्रतिनिधिलाई स्पष्टीकरणको मौका दिइनेछ । त्यस्तै यस्तो प्रस्ताव पारित हुन केन्द्रीय समितिको तत्काल कायम रहेको कुल सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।













