काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा स्थानीयले बाराको पथलैया चोकमा प्रदर्शन जारी राखेका छन् । स्थानीयहरू गत बुधबारदेखि नै प्रदर्शन गरिरहेका हुन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द भएपछि प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ ।

प्रहरीले पथलैया छाडेर सिमरा केन्द्रित आन्दोलन गर्न स्थानीय बासीलाई आग्रह गरेको छ । तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेन्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।
बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गरे पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो ।
अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् । बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भइरहेका छन् ।
सुरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँच बुदे सहमति बिहीबार राति भएको थियो ।n तर मध्यरातमा भएको सहमतिमा आफूहरुको सहमति नरहेको भन्दै परिवारले आन्दोलन जारी राखेका हुन् ।














